जनता टाइम्स

२८ आश्विन २०८१, सोमबार १४:४३

पार्टी निर्णयबिरुद्ध एमाले नेतृ बिन्दा पाण्डेको बिद्रोह, जनसंगठनका अध्यक्ष मीन शाहीले दिए साथ


काठमाडौं, असोज २८ । नेकपा एमालेकी स्थायी कमिटी सदस्य नेता बिन्दा पाण्डेले पार्टी निर्णयबिरुद्ध बिद्रोह गर्नुभएको छ । नेतृ पाण्डेले एमाले जस्तो जनताको पार्टीले आफ्नो पार्टी कार्यालय बनाउन व्यापारीबाट सहयोग लिनु गलत भएको भन्दै बिद्रोह गर्नुभएको हो ।

पाण्डेले ब्यापारीबाट सहयोग लिए पार्टी कार्यालय बनाउने कामले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

एमालेले बडादशैंको महानवमीको दिन पारेर भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुर नगरपालिकामा १० रोपनी बढी जग्गामा एमालेले पार्टी कार्यालय शिलान्याश गरेको छ । असोज २५ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको हो । व्यवसायी गुरुङले पार्टी कार्यालय भवनसमेत आफै बनाइदिने जानकारी दिनुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य पाण्डले पार्टीको यो कामप्रति आपत्ति जनाउनु भएको हो । ‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो,’ स्थायी कमिटी सदस्य पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । यसरी पार्टी कार्यालय बनाउने निर्णय आत्मघाती सावित हुने भन्दै नेतृ पाण्डेले सच्याउन पार्टी नेतृत्वसँग माग पनि गर्नुभएको छ ।

यस्तो छ पाण्डेको भनाई

साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शीर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं ।

‘दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला । तर स्वीकार गर्ने पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परेको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ,’ स्थायी कमिटी सदस्य पाण्डेले लेख्नुभएको छ ।

उहाँले अझै समय रहेको भन्दै एमालेको गौरब जोगाउन निर्णय सच्याउनु पर्ने बटमलाइन सुनाउनु भएको छ । ‘समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं,’ नेतृ पाण्डेको भनाई छ ।

प्रत्यक्ष वा अप्रत्यक्षमा घुस लिन्या र घुस दिन्या दुवै कुरा गलत हुन । अझ त्यसमा ‘कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट’ बाझिएको खण्डमा त्यसको दिर्घकालीन असर पर्न जान्छ

 

यसैबीच एमाले भातृ जनसंगठन मानवअधिकार एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले पार्टी पार्टी कार्यालय भवन ब्यापारील्े बनाइदिने र बनाइमाग्ने काम गलत रहेको भन्दै पाण्डेलाई साथ दिनुभएको छ । पाण्डेले फेसबुकमा लेखेपछि शाहीले पनि फेसबुकमार्फत नै बिरोध गर्नुभएको हो । ‘प्रत्यक्ष वा अप्रत्यक्षमा घुस लिन्या र घुस दिन्या दुवै कुरा गलत हुन । अझ त्यसमा ‘कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट’ बाझिएको खण्डमा त्यसको दिर्घकालीन असर पर्न जान्छ,’ एलाइन्सका अध्यक्ष शाहीले लेख्नुभएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका शाही जनसंगठनको अध्यक्षसँगै एमाले कर्णाली प्रदेश अधिवेशनमा अध्यक्षका पराजीत उम्मेदवार समेत हुनुहुन्छ ।