दाङ, असोज २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनका लागि राजनीतिमा सबैभन्दा बढी गैरजिम्मेवार ब्यक्ति नै बढी चर्चामा आउने विडम्बनापूर्ण स्थितिलाई तोडनु पर्ने निश्कर्ष सुनाउनु भएको छ ।
तुलसीपुरमा आज नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ३ दाङले आयोजना गरेको पालिका कमिटीका नवनिर्वाचित नेताहरूलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
‘आज जो सबैभन्दा बढी गैरजिम्मेवार छ राजनीतिमा उही नै बढी चर्चामा आउने विडम्बनापूर्ण स्थिति भएको छ । बैङ्कबाट ऋण लिएर नतिर्ने, सहकारी ठग्नेहरू आज राजनीतिको चर्चामा रहेका छन,’ एमाले महासचिव पोखरेलले भन्नुभयो, ‘समाजमा जबसम्म अराजकहरू लोकप्रिय हुन्छन, तबसम्म त्यो समाजले प्रगति गर्न सक्दैन ।’
महासचिव पोखरेलले मुलुकको विकासका लागि बलिया राजनीतिक दल आवश्यक रहेको अडाज पनि पुनः दोहोर्याउनु भयो । उहाँले मुलुक निर्माणको लागि तीनवटा कुरा आवश्यक रहेको बताउनुभयो । ‘मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक छ, यी चिज दिन सक्यो भने मात्र मुलुक विकासको गतिमा अघि बढ्न सक्दछ,’ पोखरेलले भन्नुभयो ।
यस्तै उहाँले सामाजिक सञ्जालमा आज सबै खराब कुरा मात्र देखिने गरेको र सामाजिक सञ्जाल समाजका अराजकहरूले कब्जा गरेका कारण यो स्थिति आएको बताउनु भयो । महासचिव पोखरेलले युरोप, अमेरिकाको सपना देखेर मात्र नहुने बताउँदै देशलाई त्यस्तै बनाउन बलिया राजनीतिक दल आवश्यक रहेको बताउनुभयो । युरोप, अमेरिका बलिया राजनीतिक दलले बनाएको तथ्य पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रचारबाजहरूले देशमा विकास र समृद्धि दिन नसक्ने पोखरेलको निश्कर्ष छ । पोखरेलले लोकप्रियतावादका आधारमा दृष्टिकोण नभएकाहरू नेता बन्दा देश भड्खालोमा पर्ने ठोकुवा पनि गर्नुभयो । निराशाको बिचमा देशको विकास हनु नसक्ने पोखरेलले बताउनुभयो । विकासको लागि आशा जाग्नै पर्ने र नागरिकमा आशा जगाउनु पर्ने उहाँको भनाई छ । ‘कुनै पनि देशको विकास र समृद्धि निराशामा हुनै सक्दैन,’ पोखरेलले भन्नुभयो ।
देशमा केही पनि भएन भन्नेहरूले यो बिचमा भएका विकासका काम हेर्न पोखरेलले चुनौती दिनुभयो । भएका कुराको समेत चर्चा गर्न नसक्दा अराजकतावादीहरूका हाबी भएको पोखरेलले बताउनुभयो । ‘हामी आफैले गरेको काम र भएका कुराको पनि चर्चा गर्न नसक्ने भयौँ’, महासचिव पोखरेलले भन्नुभयो । मुलुक बनाउनको लागि सकारात्मक कुरा जनताको बिचमा लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । नकारात्मक कुराले मुलुकलाई उँधोगतिमा लैजाने पोखरेलको भनाइ छ ।
उहाँले कमजोरहरूले शासन गर्दा जनताको अपेक्षा पूरा गर्न नसकिने भएकै कारण मुलुकमा बलिया राजनीतिक दलले शासन गर्नुपर्छ भनेर एमाले र कांग्रेस मिलेर सरकार बनाएको प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले नेकपा एमालेलाई अब काम नगर्नेहरूको कमिटी होइन, काम गर्नेहरूको कमिटी बनाउनु पर्ने बटमलाइन पनि सुनाउनु भयो । एमाले जनताका समस्यासँग जोडिनु पर्ने बताउँदै पोखरेलले एमालेका कमिटीले जनताका समस्यामा केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो ।
‘एमालेका नेतादेखि कार्यकर्तासम्म जनताका समस्यासँग जोडिनु पर्छ । कमिटी ओगटेर बस्ने तर काम नगर्ने परिपाटीलाई अब अन्त्य गर्नुपर्छ । कमिटीको काम जनताको समस्या समाधान गर्न भूमिका खेल्ने हो । एमालेका कमिटीले जनताका समस्यामा केन्द्रित भएर काम गर्नुपर्छ,’ पार्टीको बटमलाइन सुनाउँदै महासचिव पोखरेलले भन्नुभयो । पोखरेलले सही नीतिले मात्र काम नगर्ने बताउँदै त्यसको सही ढङ्गले प्रयोग हुने पर्ने बताउनुभयो । वैचारिक, राजनीतिक कामलाई पार्टी कामको महत्त्वपूर्ण विषय बनाएर अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
राजनीतिमा युवालाई जोड दिनुपर्ने बताउँदै उहाँले युवाको विदेश पलायन देशको लागि चुनौती भएको बताउनुभयो । राजनीतिमा युवा सहभागिता भएन भने देशको विकास पनि ओझेलमा पर्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्