जनता टाइम्स

२९ आश्विन २०८१, मंगलवार २१:०१

एमाले नेतृ बिन्दा पाण्डेको आरोपप्रति प्रचार कमाण्डर राजेन्द्र गौतमको कडा आपत्ति, तथ्यबिपरित अफवाह फैलाउने काम नगर्न चेतावनी


काठमाडौं, असोज २९ । नेकपा एमालेकी स्थायी कमिटी सदस्य बिन्दा पाण्डेको अभिब्यक्तिलाई लिएर एमालेका प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले कडा आपत्तिसहित प्रतिवाद गर्नुभएको छ ।

आफ्नो निहीत स्वार्थ पूरा नभएपछि पार्टी नेतृत्वलाई बदनाम गराउने काम भएको जनाएर प्रचार कमाण्डर गौतमले नेतृ पाण्डेले पार्टी नेतृत्वबिरुद्ध भ्रम फैलाएको भन्दै प्रतिवाद गर्नुभएको हो ।

‘नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर तथ्यबिपरित पार्टीभित्र र बाहिर अनेक खालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध बिषवमन गर्ने काम भइरहेको छ,’ एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका प्रचार बिभाग प्रमुख गौतमले भन्नुभयो ।

उहाँले पार्टीबिरुद्ध भ्रम फैलाउनेको पहिचान गरी उचित समयमा उचित सजाय दिने काम गर्न पार्टी पङ्तीलाई आग्रहसमेत गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय भवन निर्माणको बिषयलाई लिएर नेतृ पाण्डेले सामाजिक सञ्जालमा प्रश्न उठाएर बिरोध गर्नुभएको थियो । गौतमले केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई भएको अफवाहप्रति बिश्वास नगर्न पनि आग्रह गर्नुभयो ।

‘तथ्य के हो, एकजना दानवीर मिनवहादुर गुरुङ र सावित्री गुरुङले वाढी, लेदोले क्षतविक्षत भएको नेकपा एमालेको केन्द्रीय कार्यलयको दुराअवस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको हो । यसमा कुनै किसिमको लेनादेना छैन । उहाँले स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्यो,’ गौतमले भन्नुभएको छ ।

उहाँले पार्टीको कुनै निकायमा छलफलसमेत नगरी यति ठूलो र बिवादास्पद निर्णय गरिएको भन्ने नेतृ पाण्डेको आरोपलाई खारेजसमेत गर्नुभएको छ । ‘तथ्य नवुझी बदनाम नगरौं । पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको हो,’ गौतमको भनाई छ ।

उहाँले पार्टी कार्यालय बनाइदिने बिषयलाई निर्णय गरेरै स्वीकार गरिएको पनि बताउनु भयो । ‘यसमा पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्यो ? सस्तो लोकप्रियताका लागि मिडिया कन्जम्शन (खपथ), पव्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौं, सोसल मिडियाको दुरुपयोग नगरौं, प्रचार प्रमुख गौतमको भनाई छ ।

गौतमको भनाई जस्ताको तस्तै

नेकपा (एमाले) को केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टी भित्र र बाहिर अनेकखालका भ्रम,अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध बिष वमन गर्ने काम भइरहेको छ । तथ्य के हो ? एकजना दानवीर मिनवहादुर गुरुङ र सावित्री गुरुङले वाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले) को केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो ।

यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्यो । तथ्य नवुझी बदनाम नगरौं । पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको हो । यसमा पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्यो ? सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्शन (खपथ), पब्लिक कन्जम्शनका लागि फगत पेपर वार नगरौं, सोसल मिडियाको दुरुपयोग नगरौं ।