जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १५:००

प्रधानमन्त्री ओलीले जे सोच्नु हुन्छ, त्यही हुन्छ : प्रचण्ड


काठमाडौं, अकात्तिक १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मन्त्रिपरिषद हेरफेरको बिषयमा आफूलाई प्रश्न नसोध्न पत्रकारलाई सुझाव दिनुभएको छ ।

सुदूरपश्चि प्रदेशका पत्रकारसँग आज कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्ने गरेको अनुभुति सुनाउनु भयो । ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । यो प्रधानमन्त्रीको क्षेत्रधिकारभित्रको कुरा हो । उहाँले जे सोच्नु हुन्छ त्यही हुन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

तपाईं पनि त पार्टी अध्यक्ष हो नि भन्ने पत्रकारको जिज्ञासामा पनि प्रचण्डले प्रधानमन्त्री र आफूबीच सल्लाह भए पनि निर्णय उहाँकै हातमा रहेको बताउनु भयो । ‘पार्टी अध्यक्ष म पनि हो, मसँग प्रधानमन्त्रीले सल्लाह गर्नुहुन्छ । तर अहिले मिडियामा आएको जस्तो यो जाने भयो रे, यो आउने भयो रे भन्ने भएको छैन, त्यो कुरा सत्य पनि होइन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । मन्त्रिमण्डल हेरफेर गर्ने बारेमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र आफ्नाबीच कुनै चर्चासमेत नभएको उहाँले प्रष्ट पार्नुभयो ।

‘प्रधानमन्त्री र मेरो कुरा हुँदा यो चर्चा भएको छैन, हाम्रो बीचमा ठोस रुपमा कुरा भएको छैन । यो विषय प्रधानमन्त्रीको सोचको विषय हुन्छ,’ प्रचण्डको भनाई थियो । केही दिन अघि प्रधानमन्त्री ओली र प्रचण्डबीचमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मन्त्रिहरुको कामबाट चित्त नबुझेको भन्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा प्रचण्डसँग छलफल गरेको भन्दै फेक समाचार सार्वजनिक भएको थियो ।