जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १५:४९

अबदेखि काठमाडौंमा एनआरएनएको निर्वाचन नगर्ने अध्यक्ष कुमार पन्तको घोषणा, यस्तो छ कारण


काठमाडौं, कात्तिक १ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अब एनआरएनएको निर्वाचन नेपालमा नगर्ने घोषणा गर्नुभएको छ ।

नवौँ बिश्व सम्मेलन तथा निर्वाचन कार्यक्रमका क्रममा एनआरएनएका सदस्यको अभद्र व्यवहारसहित हुलदंगा र भद्रगोल गतिविधिको तीव्र आलोचना भएपछि नवनिर्वाचित अध्यक्ष पन्तले नेपालमा निर्वाचन नगर्ने कठोर निर्णय सुनाउनुभएको हो । गैर राजनीतिक संस्था एनआरएनएमा होटलको कोठा–कोठमा आएर राजनीति गर्ने प्रयास भएको दृष्यले आफूहरुलाई यस्तो निर्णयमा पुर्याएको अध्यक्ष पन्तको भनाई छ । निर्वाचनका क्रममा नेपाली कांग्रेसका एक दर्जन बढी नेताहरु होटल हायातमै डेरा जमाएर बस्नुभएको थियो । अध्यक्ष पन्तले यसी दृष्यलाई संकेत गर्नुभएको हो ।

‘गैर राजनीतिक संस्था एनआरएनएमा अनावश्यक राजनीतिकरण गर्न खोजियो । सम्मेलनका बेला होटलका कोठा–कोठामा नेताहरू ल्याएर छलफल भए,’ अध्यक्षमा बिजयी भएलगत्तै पत्रकारसँग पहिलो प्रतिक्रिया दिँदै पन्तले भन्नुभयो, ‘अबदेखि काठमाडौंमा निर्वाचन कार्यक्रम गर्दैनौं, बरु अनलाइन भोटिङ गर्छौं । प्रतिनिधिले मात्रै नभइ साधारण सदस्यले नै भोट गर्न पाउने व्यवस्था गर्छौं ।’

पन्तले श्रमिक कल्याणकारी कोषको रकम वृद्धि गरिने दृढता पनि राख्नुभयो । दक्ष कामदार उत्पादनका लागि सरकारलाई सहयोग गर्ने पन्तको भनाई थियो । उहाँले चुनावताका आफूले अघि सारेको पाँच बुँदे प्रतिवद्धतालाई ब्यवहारमा कार्यान्वयन गरेर देखाउने अठोटसमेत गर्नुभएको छ । काठमाडौंमा भएको नवौं सम्मेलनबाट अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतले पराजित गर्दै अध्यक्षमा बिजयी हुनुभएको हो ।