काठमाडौं, कात्तिक ३ । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ । सरकारले सवारी चालक अनुमति पत्रको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड नबोक्दा पनि हुने व्यवस्था गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अव ट्रायल पास गरेकाले लाइसेन्स कार्ड बोक्नु नपर्ने जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीका अनुसार अव नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ ।
’सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ, नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुनेछ,’ प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको जानकारीसमेत दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ’सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ । यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ ।’
आइतबारबाट वागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने प्रधानमन्त्री ओलीले जानकारी दिनभएको छ । उहाँले प्रधानमन्त्री ओलीले नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको जानकारी पनि दिनुभएको छ ।
’कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं, राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्