जनता टाइम्स

३ कार्तिक २०८१, शनिबार २२:११

गृहजिल्लाबाट शेखर कोइरालाको गर्जन : बर्तमान सरकार ढल्छ कि भनेर कसैले सपना नदेखे हुन्छ


विराटनगर, कात्तिक ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिनुभएको छ ।

मोरङको बेलबारीमा आजबाट सुरु भएको कांग्रेस भातृ संगठन नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो सुझाव दिनुभएको हो ।
राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको बर्तमान सरकार ढल्ने सम्भावना नरहेको प्रष्ट धारणा पनि उहाँले राख्नुभयो ।

‘आगामी निर्वाचनसम्म कांग्रेस र एमाले गठबन्धनकै सरकार रहिरहन्छ, ढल्छ कि भनेर सपना नदेख्दा हुन्छ,’ कोइरालाले भन्नुभयो, ‘यो सरकार ढल्दैन, चल्छ, तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ । गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खानमात्रै सरकार बनेको होइन । मन्त्रीहरूले इमानदारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको बताउनु भयो । आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस हुन थालेको भन्दै उहाँले त्यसतर्फ ध्यान दिन सरकारलाई सुझाउनु भयो ।

उहाँले नेपाली जनताले धेरै चिज नखोजेको भन्दै ‘सुशासन, आर्थिक विकास भए नेपाली जनता खुसी हुने तथा सुशासन र आर्थिक विकास भए रोजगारी सिर्जना हुँदै जाने’ बताउनु भयो । ‘सुशासनविना आर्थिक विकास हुँदैन । सुशासन कायम गर्न सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्दछ,’ कोइरालाले भन्नुभयो ।