जनता टाइम्स

६ कार्तिक २०८१, मंगलवार १०:००

रबि लामिछानेबारे प्रधानमन्त्री र बिपक्षी दलका नेताबीच बालुवाटारमा रोचक सवाल-जवाफ


काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बिपक्षी दलका नेताहरुबीच रोचक सवाल-जवाफ भयो ।

ज्ञापनपत्र बुझाउनका लागि सोमवार साँझ प्रधानमन्त्री निवास पुग्नुभएका प्रचण्डसहित संसदमा रहेका ५ दलका नेताहरुले रबि लामिछाने पक्राउको बिषयमा प्रतिशोध वा पर्वाग्रह हो कि भनेर प्रश्न गरेपछि नेताहरुबीच सवाल-जवाफ चलेको हो ।

सो क्रममा प्रधानमन्त्री आलीले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतिर हेर्दै संसदीय समितिको सिफारिश कार्यान्वयन गर्नु सरकारको दायित्व हो कि होइन ? तपाईहरुको पालामा के गर्नुहुन्थ्यो ? भन्दै प्रश्न सोध्नुभयो । जवाफमा दुवैले संसदीय समितिको सिफारिश कार्यान्वयन हुनुपर्नेमा आफूहरु दृढ नै रहेको तथ्य ओकल्नुभयो ।

दाहाल र नेपालले रास्वपाका उपसभापति डिपी अर्याल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, आजपाका अध्यक्ष प्रभु साहसमेत सहभागी हुनुहुन्थ्यो । सो क्रममा प्रधानमन्त्री ओलीले जिज्ञासासहित भन्नुभयो, ‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।’

प्रधानमन्त्री ओली र विपक्षी दलबीचको संवाद जस्ताको तस्तै

विपक्ष : पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो ?

प्रधानमन्त्री ओली : मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।

विपक्ष : पूर्वाग्रह, तानाशाही ?

प्रधानमन्त्री ओली : अहिले कतिपय ठाउँमा मलाई ‘तानाशाह’ भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन । मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ । हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।

विपक्षः राजनीति दलसम्बन्धी अध्यादेश ?

प्रधानमन्त्री ओली : विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।

विपक्ष : विपद र राहतको विषय ?

प्रधानमन्त्री ओली : मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको छ, बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरुमा भएको अवरोध खुलाइएको छ । यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ ।