आन्दोलनमा संघीय संसदको उपस्थिति गैरकानुनी भन्दै एमालेले भनेको छ, ‘यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार हुने कानुनी व्यवस्थातर्फ सबै सचेत हुनु पर्दछ
काठमाडौं, कात्तिक ८ । नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न आग्रह रास्वपालगायत सवै पक्षलाई गरेको छ । सत्तारुढ एमालेले यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरी संसदीय छानबिन समितिले दिएको सर्वसम्मत प्रतिवेदनका आधारमा छानबिन अगाडि बढाउँदा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका जिम्मेवार व्यक्ति तथा निकायविरुद्ध गलत आक्षेप लगाएर अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै त्यसो नगर्न सचेत गराउनु भएको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नियमित रुपमा प्रदर्शन गरी अनुसन्धानमा अवरोध गर्दै आएको छ । सहकारी ठगीमा लामिछानेमाथि कुनै छानविन नगरी निर्दाेष सावित गरिदिनु पर्ने रास्वपाको माग रहेको छ ।
एमाले महासचिव पोखरेलले रास्वपाको यस्तो गतिबिधि लोकतन्त्र र बिधिको शासनमा स्वीकार्य नहुने पनि प्रष्ट पार्नुभएको छ । ‘छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय हो,’ पार्टी सभापति रवि लामिछाने पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको प्रदर्शनतर्फ संकेत गर्दै महासचिव पोखरेलले भन्नुभएको छ ।
उहाँले बिज्ञप्तिमा फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाउनु सबैको दायित्व भएको पनि जनाउनु भएको छ । ‘सबै पक्षको सकारात्मक सहयोगबाट नै अनुसन्धानको प्रक्रियालाई प्रभावकारी बनाई दोषी नउम्कने र निर्दोष कोही पनि नफस्ने कुराको सुनिश्चिता गर्न सकिन्छ,’ एमाले महासचिव पोखरेलको विज्ञप्तिमा भनिएको छ ।
यस्तै राष्ट्र सेवकलाई कानून बमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालन गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढी भेला गर्नु गराउने आफैंमा कसुर भएको पोखरेलको भनाई छ । यस्तो कसुरमा संघीय संसदको उपस्थिति गैरकानुनी भएको भन्दै एमालेले रास्वपाका नेताहरुको अभियानप्रति पनि गम्भीर आपत्ति जनाएको छ ।
‘यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सबै पक्ष सचेत हुनु पर्दछ ,’ लामिछाने पक्राउपछि रास्वपाका नेताहरुले सडकमा देखाएको बितण्डाप्रति आपत्ति जनाउँदै महासचिव पोखरेलले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्