जनता टाइम्स

११ कार्तिक २०८१, आईतवार १०:५५

अरुभन्दा फरक यी जनप्रतिनिधि, जस्ले सय बर्षकी एकल महिलाको सेवा गरेर मनाए जन्मदिन


रामेछाप, कात्तिक ११। पछिल्लो समय जन्मदिन मनाउने शैली निकै भद्द्धा, खर्चिलो र रफाव देखाउने संस्कृतिका रुपमा बिकसित भइरहेको छ । आफ्नो रवाफ देखाउन र सोही आधारमा ठगी धन्दा चलाउने काम पनि निकै बढेको पाइएको छ । तर यो भीडमा रामेछापका एक जनप्रतिनिधि फरक देखिनुभएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ सैपुका वडाध्यक्ष सन्तोष पौडेलको जन्मदिन मनाउने तरिका भने अरूको भन्दा फरक छ । उहाँले आफ्नो जन्मदिन गाउँका विपन्न नागरिकको सेवा गरेर मनाउने गर्नुभएको छ ।

सोही क्रममा पौडेलले यस पटकको जन्मदिन आफ्नै वडाकी एक एकल ज्येष्ठ महिलासँग मनाउनु भएको छ । एक सय वर्षकी एकल महिला खुनी दमिनीसँग यस वर्षको जन्मदिन मनाएको पौडेलले बताउनुभयो ।

जन्मदिनको दिन शनिबार पौडेल चामल, दाल, चिनी, मसला लगायतका खाद्य सामाग्री बोकेर खुनीको घरमा पुग्नु भयो । खुनी एक सय वर्षको उमेरमा पनि घरमा एक्लै बस्दै आउनु भएको छ । उहाँलाई कहिलेकाहीँ भाइले सहयोग गर्ने गर्नुभएको छ ।

प्राय सामाजिक काम र श्रमदानमा जुटिरहनुहुने पौडेलले यस अघिका जन्मदिन गाउँमा बिजुलीबत्ती बाल्न नसक्ने एकल र विपन्नको घरमा आफ्नै खर्चले विद्युत् जडान गरिदिएर मनाउने गर्नुभएको थियो । अब गाउँमा विद्युत् नपुगेका घर कुनै पनि बाँकी नरहेकाले यस पटक एकल महिलालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको हो ।

गाउँमा सडक मर्मत, विद्युत् जडान हुन वा अन्य सामाजिक काम हुन् सबै काममा श्रमदानको लागि पौडेल अग्रपङ्तिमा रहेर काम गर्नुहुन्छ । गाउँका अशक्त नागरिकलाई पनि घरमा नै पुगेर वडा कार्यालयले प्रवाह गर्ने सेवा पौडेलले प्रदान गर्दै आउनुभएको छ ।