जनता टाइम्स

११ कार्तिक २०८१, आईतवार १८:२२

प्रचण्डलाई प्रधानमन्त्री ओलीले फर्काए कठोर जवाफ


काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कठोर जवाफ फर्काउनु भएको छ । प्रचण्डमा सत्ताबाट हटनुपरेको पीडामा छटपटाएर बर्बराउने रोग लागेको भन्दै प्रधानमन्त्री ओलीले कठोर जवाफ फर्काउँदै माटामुनि लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने चेतावनी पनि दिनुभयो ।

एमाले जनसंगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अव पनि धम्कीको भाषा नबोल्न प्रचण्डलाई सचेतसमेत गराउनु भयो । ‘खिया लागेका हतियारले काम गर्दैन, अव पनि झूटो प्रचार नगर्नू, जनताले पत्याउँदैनन,’ प्रचण्डलाई जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हतियार बिसाएका मात्रै हौं भनेर दिइने धम्कीलाई अज जनताले नपत्याउने भन्दै नेपाली समाजलाई झूटो प्रचार गरेर धम्की नदिन चेतावनी दिनुभयो । आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरूलाई पनि प्रधानमन्त्री ओलीले जवाफ दिनुभयो । ‘भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्ने सक्छन, सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौं भन्ने । ओलीको साख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरुन, स्पष्ट जवाफ पाउने छन ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको भन्दै कानून उलंघन र बिधिको शासनबिरुद्ध जानेहरु सकिने बताउनु भयो । ‘नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौं, चुट्छौँ, मार्छौं, काट्छौं भन्नु छाडातन्त्र हो । त्यस्ता क्रियाकलाप सैह्य हुँदैन,’ बिपक्षीको अराजक कामप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले राष्ट्रका लागि आवश्यक परे पूर्वसुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने पनि बताउनु भयो । सो क्रममा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा जथाभावी रुपमा प्रस्तुत हुनेहरूलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको जानकारीसमेत दिनुभएको छ ।

सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यता संगत नभएको प्रष्ट पार्नुभयो । आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा पनि प्रधानमन्त्रीको भनाई छ ।