गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीको घरबाट बरामद भएको ‘हार्ड डिस्क’ मा कास्की, काठमाडौं, चितवन मात्र नभएर पर्साको बीरगञ्जमा केन्द्रीय कार्यालय रहेको सानो पाइला सहकारीबाट पनि रकम सिधै गोर्खा मिडियामा सारिएको भेटिएको छ ।
काठमाडौं, कात्तिक १४ । रबि लामिछाने र जीबि राईको समुहले योजना बनाएरै सहकारीको रकम ठगी अभियान सञ्चालन गरेको तथ्य खुलेको छ । राई र लामिछानेले गोरखा मिडियाको नाममा सहकारीको रकम सिधै जम्मा गर्न अनेकन हतकण्डा अपनाएको तथ्य उजागर भएको हो ।
खुब तामझामा साथ ग्यालेक्सी टेलिभिजन सञ्चलनमा ल्याएको गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीको घरबाट बरामद भएको ‘हार्ड डिस्क’ मा कास्की, काठमाडौं, चितवन मात्र नभएर पर्साको बीरगञ्जमा केन्द्रीय कार्यालय रहेको सानो पाइला सहकारीबाट पनि रकम सिधै गोर्खा मिडियामा सारिएको भेटिएको छ ।
वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा साढे ८ करोड रुपैयाँ लगेर अपचलन गरेको तथ्य फेला परेको हो । सानो पाइलाबाट गैरकानुनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक (एमडी) रहनुभएको थियो ।
सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको पाइएको छ । ०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो । अरू रकम ०७८ वैशाख ५ देखि ०७९ साउन १९ सम्ममा सारिएको हो । लामिछाने ०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक पदमा रहनुभएको स्वयंले स्वीकार गर्नुभएको छ ।
सानो पाइलाका बचतकर्ताका अनुसार बचत अपचलनका विषयमा एक वर्षअगाडि उजुरी दिँदा गोर्खा मिडियामा सहकारीबाट रकम सारिएको प्रमाण फेला परेको थिएन । त्यस बेला प्रमाण नपुग्दा प्रहरीले सहकारीको सञ्चालक समिति र कर्मचारीको मात्र नाम लिएको थियो । उजुरीमा गोर्खा मिडियाको नाम राख्न खोज्दा प्रहरीले प्रमाण माग गरेपछि नाम हटाउनु परेको पीडितहरूले बताए ।
संसदीय छानबिन समितिले प्रतिवेदनमा सानो पाइला सहकारीबाट पनि गोर्खा मिडियामा रकम सारिएको उल्लेख गरेपछि बचतकर्ताले प्रहरीलाई थप अनुसन्धान गर्न अनुरोध गरेका हुन । सानो पाइला सहकारीको बचत हिनामिनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिनुभयो ।
एक वर्षअगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए । त्यतिबेला प्रहरीले पर्याप्त अनुसन्धानै नगरी हतारमा मुद्दा अघि बढाउँदा गोरखा मिडियाको नाम छुटन पुगेको थियो । प्रहरीले अनुसन्धानपछि जिल्ला अदालत पर्सामा मुद्दा दायर गरिएकोमा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ ।
सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन । प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार छन । कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन ।
गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र प्रबन्धक निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा छन । सानो पाइला सहकारीबाट जोशीका नाममा पनि एक करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ । वीरगन्ज महानगरपालिकाको अनुसन्धानले जीबी राईसँग प्रत्यक्ष जोडिएका कम्पनी तथा ती कम्पनीमा काम गर्ने कर्मचारीका नाममा बिनाधितो ऋण प्रवाह गरिएको तथ्य फेला पारेको छ । सानो पाइला सहकारी समस्याग्रस्त बनेपछि वीरगन्ज महानगरपालिकाले स्थलगत अनुगमन गरी अनुसन्धान गरेको थियो ।
नेचर नेस्ट प्रालिलाई एक करोड ८५ लाख, नेचर हब इन्टरनेसनललाई एक करोड ३७ लाख, स्प्रिङ वुड रियल इस्टेटलाई एक करोड १३ लाख, कुमार रम्तेललाई ८४ लाख र ग्रेसी स्पुन रेस्टुरेन्टलाई ८६ लाख ऋण प्रवाह गरिएको पाइएको छ । यस्तै रोशनी गुरुङका नाममा एक करोड २८ लाख, सागर केसीका नाममा एक करोड १७ लाख, ओमप्रकाश गुरुङका नाममा एक करोड सात लाख, विशाल तमाङका नाममा ६ करोड ८३ लाख, नवीन अछामीका नाममा ३ करोड ४९ लाखलगायत ७५ जनाका नाममा ९३ करोड ६२ लाख ९७ हजार ऋण प्रवाह भएको पाइएको छ ।
गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष जोशीको घरबाट बरामद हार्ड डिस्कमा सानो पाइलाबाट रकम गोर्खा मिडियामा सारिएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । पूर्वडिआइजी जोशी पनि गोरखा मिडियाको सहकारी ठगीकै प्रकरणमा कास्की प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । लामिछाने पनि प्रहरी हिरासतमा छन भने जिबि राई फरार छन ।
राईले आफू रबि समुहकै ट्यापमा परिरहेको भन्दे नेपाल आएर अनुसन्धानमा सहयोग गर्ने सन्देश पठाउनु भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट पनि रबि र जिबिको समुहले ऋण लिएर अपचलन गरेको तथ्य फेला परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्