काठमाडौं, कार्तिक १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्नेलाई मज्जाले भन्नुपर्ने बताउनुभएको छ ।
बिहीबार सिस्नो पानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गल्ती गर्नेलाई भन्दा सच्चिन्छ भने सच्चिने नत्र सिद्धिने बताउनुभयो ।
‘भन्न मज्जाले पाइन्छ, तर शिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले बोल्दाखेरि भने सत्य र तथ्यमा आधारित भएर बोल्नु पर्ने बताउनुभयो । सत्य बोल्ने, त्यसलाई अवलम्बन गर्ने र सत्यमा अडिने बानी बसाल्नु पर्नेमा ओलीले जोड दिनुभयो ।
उहाँले एमालेले पार्टी कार्यालय बनाउनको लागि जग्गा दान लिएको प्रति भएको आलोचनाको पनि प्रतिवाद गर्नुभयो । ‘आफ्नै पैसाले किनेका कुन चाहिँ पार्टीको अफिस छ ? मलाई देखाइदिनुस् न है, आफ्नै पैसाले चुनाव लडेका को-को छन् ? मलाई बताइदिनुहोला, अब २० जनाले दान दियो कि एकजानाले दियो, त्यति फरक हो’, नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले सरकार प्रमुख भएको हैसियतले देशको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई तलमाथि हुन नदिने प्रतिबद्धता पुन: दोहोर्याउनु गर्नुभयो ।यस्तै उहाँले समृद्ध नेपाल : सुखी नेपाली बनाएरै छाड्ने अठोट गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले पञ्चायतका विरुद्ध लड्न थाल्दा पनि मानिसहरूले आफूलाई पहरोको विरुद्ध कुहिनाको लडाइँ सुरु गरेको भन्दै खिसी गर्ने गरेका सुनाउनुभयो ।
‘पहरोसँग कुइना किन ठोकाउँछौ ? राजतन्त्रसँग लड्ने तिमीहरू त कुहिना जस्ता हौ, पहरोमा कुहिना हान्यो भने तिमीहरूका कुहिना कच्याक कुचुक हुन्छन, पहरो भत्कँदैन बाबु भनेका थिए, अलि समय जेल बसियो तर पहरा भत्काइयो, राजतन्त्र फालियो, तानाशाही फालियो, अधिनायकवाद ढालियो’, बिगत स्मरणसहित प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले देश बनाउने कुरा एकैछिनमा हुने काम नभएको बताउनुभयो । ‘बिस्तारै दूधको दूध पानीको पानी हुँदै जान्छ, म त कुनै हतारो गर्ने पक्षमा छैन’, ओलीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै ओलीले विकास निर्माणको हिसाबले देश निक्कै अघि बढिसकेको बताउनुभयो । आज देशका कुनै पनि ठाउँ दुर्गम नभएको अवस्थामा पुगेको ओलीले स्पष्ट पार्नुभयो । ९८ प्रतिशत घर परिवारमा खानेपानी, विद्युत् लगायतका सेवा पुगेका उहाँले बताउनुभयो । त्यस्तै गाउँ गाउँमा बिजुली, सडक पुगेका ओलीले सुनाउनुभयो ।
काम गर्ने क्रममा केही गल्ती र कमजोरी भएका भए पनि विकास र काम भएका ओलीले बताउनुभयो । गल्तीलाई सच्याउँदै अघि बढ्नु पर्ने उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्