काठमाडौं, कात्तिक २४ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको एजेण्डादेखि कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि कार्वाहीसम्मका चार महत्वपूर्ण निर्णय गरेको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवाल बैठक चार वटा बिषयमा ठोश निर्णय गरको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएको जानकारीअनुसार बैठकले आगामी मंसीर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई बैठकले निर्देशन दिएको छ ।
बैठकले सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । ‘पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान गर्नुका साथै निर्देशन दिएको छ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो । यस्तै बैठकले प्रधानमन्त्रीको चीन भ्रमण विगतका समझदारी कार्यान्वयमा केन्द्रित रहनुपर्ने निश्कर्ष निकालेको ज्ञवाली जानकारी दिनुभयो ।
‘दुई राजनीतिक दलहरुबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन र कामलाई अझै प्रभावकारी बनाउन संयन्त्र बनेको छ । विश्वासको वातावरण सुदृढ बनाउँदै लानुपर्छ भन्ने पनि जोड दिएका छौं,’ ज्ञवालीले भन्नुभयो ।
प्रधानमन्त्रीको चीन भ्रमण चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका भएका समझदारी कार्यान्वयमा केन्द्रित हुने उहाँको भनाई छ । ‘सम्मानीय प्रधानमन्त्रीको छोटो भ्रमण हुन्छ, भ्रमणका क्रममा विगतमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आउँदाखेरि भएको समझदारी र नेपालका प्रधानमन्त्री र राष्ट्रपति चीन भ्रमणमा जाँदाको समझदारी कार्यान्वयनमै हाम्रो जोड हुनेछ । त्यसैमा भ्रमण केन्द्रित गर्नुपर्ने निश्कर्ष बैठकको छ।’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
यस्तै बैठकले सरकारले अहिलेसम्म गरेको काम सकारात्मक रहेको भन्दै सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको छ । उपमहासचिव ज्ञवालीका अनुसार बैठकमा सरकारको कामको समीक्षा गर्दै यस्तो निश्कर्ष निकालिएको हो ।
बैठकले सत्ता साझेदार कांग्रैस र एमालेबीच अझै उच्चस्तरको सम्बन्ध कायम गर्दै आगामी निर्वाचनसम्म सत्ता सहकार्य लैजानका लागि दुई दलीय राजनीतिक संयन्त्र बनेको भन्दै यस्ले सरकारलाई प्रभावकारी रुपमा काम गर्न र बिरोधीको अपवाह चिर्न बल पुगेको ठहर पनि गरेको छ ।
‘दुई राजनीतिक दलहरुबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन र कामलाई अझै प्रभावकारी बनाउन संयन्त्र बनेको छ । विश्वासको वातावरण सुदृढ बनाउँदै लानुपर्छ भन्ने पनि जोड दिएका छौं,’ ज्ञवालीले भन्नुभयो ।
बैठकले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा संलग्न रहेको आरोप लागेपछि प्रदेशले गरेको कार्वाहीलाई अनुमोदन गरेको छ । अभियोगको किनारा नलाग्दासम्म अधिकारीलाई पार्टीको संगठित सदस्यबाट समेत निलम्बन गर्ने निर्णय एमालेले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्