मोरङ, कात्तिक २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नु पर्ने बेला आएको प्रष्ट पार्नुभएको छ ।
विराटनगर विमानस्थलमा मंगलवार पत्रकारसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । महासचिव पोखरेलले आवश्यकताको आधारमा संबिधान संशाधन गर्ने मूल कामको लागि नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता समीकरण बनाइएको जानकारीसमेत दिनुभयो । ‘संवैधानिक, कानुनी र संरचनागत सुधार गर्ने उदेश्यका साथ हामीले दुई ठूला पार्टी मिलेर सरकार गठन गरेका छौं,’ महासचिव पोखरेलले भन्नुभयो ।
सो काममा नेकपा एमाले र नेपाली कांग्रेसको मूलभूत जिम्मेवारी भए पनि देशका सबै राजनीतिक दलसँगको संवाद, छलफल र सहमतिबाट संविधान संशोधनको काम हुने पोखरेलले स्पष्ट पार्नुभयो । यसकै आधारमा मुलुकलाई अघि बढाउने उहाँले बताउनुभयो । ‘हामी २०८४ सम्म यो काम सम्पन्न गरेर अगाडि बढ्छौं,’ महासचिव पोखरेलले भन्नुभयो ।
धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरूमाथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्नलाई २०८४ को निर्वाचन अघि नै संविधान संशोधन गरिने पोखरेलले बताउनुभयो । ‘त्यो परिपाटिलाई चुनावबाट अन्त्य गर्न हिसाबले हामीले संविधान र कानुन सुधारको विषयलाई अघि बढाएका हौँ’, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले संविधान र कानुन सुधारले मात्रै अघि बढ्न नसकिने बताउँदै विकास र समृद्धिको लागि संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो । ‘यो संविधानको विषय मात्र होइन, संविधान, कानुन र संरचनागत सुधार, यी तीनवटै विषयलाई हामीले अगाडि लैजान्छौँ’, पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले कांग्रेस र एमाले मिलेर साना दललाई समाप्त पार्न नखोजेको बताउँदै जसले राजनीति गर्न चाहन्छ उसले आफूलाई बलियो भने बनाउनु पर्ने स्पष्ट पार्नुभयो । साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य हुनुपर्ने पोखरेलको भनाई छ । जनताको जनादेश पाउने दलले नै शासन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ’, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले जुन राष्ट्रिय उद्देश्य बोकेर नेकपा एमाले र कांग्रेस अघि बढिरहेका छन, त्यस उद्देश्यमा सहयोग गर्नको लागि केन्द्रदेखि जिल्ला तहसम्म दुई दलीय संयन्त्र बनाउन लागिएको जानकारी दिनुभयो । ‘यो सरकारले गर्ने काम मात्र होइन, राजनीतिक दलको पनि भूमिका आवश्यक हुन्छ, त्यस अर्थमा प्रमुख दलहरू मिलेर त्यो वातावरण तयार गर्नुपर्दछ भन्ने मान्यताको आधारमा हामीले दुई दलीय संयन्त्र बनाएका हौँ’, पोखरेलले भन्नुभयो ।
नागरिकमा पुराना दलप्रति बढ्दै गएको निराशा चिर्नको लागि पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएको पोखरेलले बताउनुभयो । अहिले नागरिकमा त्यो निराशा चिरिँदै गएको उहाँले दाबी गर्नुभयो । प्रमुख दलले सरकार बनाउँदैमा नागरिकमा देखिएको निराशा नचिरिने बताउँदै उहाँले नागरिकमा निराशा पैदा हुनुको कारण खोजी गरी त्यसको समाधानको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको राजनीतिक अस्थिरता र अराजकताले समाजलाई पीडा दिएको भन्दै महासचिव पोखरेलले त्यसबाट समाजलाई मुक्ति दिन पनि प्रमुख राजनीतिक दल मिल्नु परेको प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्