जनता टाइम्स

७ मंसिर २०८१, शुक्रबार २२:१९

एमालेप्रति कठोर बने मेयर बालेन, काठमाडौं महानगरले गर्यो एमालेलाई एक लाख जरिवाना


काठमाडौं, मंसीर ७ । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना निर्णय गरेको छ ।

जागरण सभाका कारण सडकमा फोहोरमैला सिर्जना गरी प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेर पत्र पठाएको हो । सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौँ उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गस्थित सडकमा जागरण सभा आयोजना गरेको थियो ।

सो सभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू सहभागी हुनुभएको थियो । सभा सकिएलगत्तै काठमाडौँ महानगरपालिकाले जागरण सभाका कारण सार्वजनिक स्थान सडकमा फोहोरमैला भएको र त्यहीकारण प्रदूषण फैलाउन मद्दत पुगेको भन्दै एक लाख जरिवाना तोकेर एमाले मुख्यालय च्यासलमा पत्राचार गरेको छ ।

महानगरपालिकाको नगर प्रहरीका निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित एमाले केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखिएकोमा पत्रमा कानूनबमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ ।

‘मंसिर ७ गते काठमाडौँ महानगरपालिका १ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,’ महानगर प्रहरीका निरीक्षक गाछाले पत्रमा लेख्नुभएको छ ।

महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा ऐनविपरीत गर्नेहरूलाई यसअघि पनि जरिवाना गर्दै आएको छ ।