जनता टाइम्स

८ मंसिर २०८१, शनिबार १२:३८

केराखेतीबाट वार्षिक १० लाख आम्दानी


दोधारा चाँदनी, मङ्सिर ८ । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित हुनुहुन्छ । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आउनुभएका रानाले केराखेतीबाट वार्षिक रु १० लाख बढी आम्दानी गरिरहनुभएको छ । राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसक्नुभएको छ । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गर्नुभएका रानाले हाल १७ बिघामा खेती विस्तार गर्नुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट रु २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उहाँले बताउनुभयो । अहिले केराखेतीबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु’, रानाले भन्नुभयो,‘वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।’ केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उहाँले बताउनुभयो ।

कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछि उहाँले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताउनुभयो । ‘कृषिमा अहिले थुप्रै प्रविधि आएको छ यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ’, रानाले भन्नुभयो,‘अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, अहिले ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु ।’ कृषक रानाले केराखेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गर्नुभयो ।

‘मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु । यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुईरतीन वर्षका लागि मात्रै पाइन्छ’, रानाले भन्नुभयो,‘लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ ।’ उहाँले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताउनुभयो । खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उहाँको भनाइ छ । ‘बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कन ड्रोन प्रविधिबाट खेती गर्ने तयारीमा छौँ’, रानाले भन्नुभयो,‘ड्रोन प्रविधिको प्रयोगले उत्पादन र आम्दानी बढ्ने आशा गरेका छौ ।’

उहाँले पछिल्लो समय विषादी छर्किंदा किसानहरुको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गर्नुभयो । रानाले दुई जनालाई मासिक तलबमा कामदार राख्नुभएको छ भने खेतीको सिजनको बेला ३०÷४० जनालाई रोजगारी दिने गरेको बताउनुभयो ।

उत्पादन गर्नसके बजारको समस्या नरहेको उहाँको भनाइ छ । ‘अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन’, रानाले भन्नुभयो,‘स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपदैन ।’ उहाँले यहाँ उत्पादित केरा अत्तरिया, दिपायल, डडेल्धुरा र दाङको तुलसीपुरसम्मका बजारमा जाने गरेको जानकारी दिनुभयो । उहाँले राज्यले किसानलाई सहयोग गर्ने नीति ल्याउएमा किसानलाई हौसला प्राप्त हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।