सुनसरी, मंसीर ८ । अफवाह फैलाउने अभियानका प्रमुख मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको छ ।
सुनसरी प्रहरीका अनुसार प्रसाईं सवार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय ६० वर्षीय मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । मेहताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । प्रसाई झुटको खेतीमा निकै अगाडि बढेपछि साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेर प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।
मृतक मेहताका परिवारजनले सप्तकोशी न्युरो अस्पतालको लापरबाहीबाट ज्यान गएको भन्दै घटना छानबिनको माग छन ।
प्रतिक्रिया दिनुहोस्