काठमाडौं, मंसीर ११ । नेपाल प्रहरीका आठ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिश भएका छन ।
डिआइजीको ९ दरबन्दी रिक्त हुँदा बढुवा समितिले ८ एसएसपीलाई उक्त पदका बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी महानिरीक्षक (आइजीपी) बशन्तबहादुर कुँवरका ब्याची ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द क्रमशः पहिलोदेख तेस्रो नम्बरको बढुवा सिफारिस हुनुभएको छ ।
यसअघिको बढुवामा अन्यायपूर्वक छुटाइएको टोली यस पटकको बढुवामा समेटिएको हो । यस्तै राष्ट्रिय अनुसन्धान विभागको अधिकृतका रूपमा भर्ना भई पछि नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समायोजित टोली डीआइजीमा बढुवा सिफारिस भएको छ । बढुवामा पर्नुभएका सिध्दिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्मरबहादुर विक उक्त टोलीका हुनुहुन्छ ।
राष्ट्रिय अनुसन्धानको अधिकृतमा २०५३/०९/०५ मा भर्ना भई पछि प्रहरीमा समायोजन हुने शाह, राठौर, चतुर्वेदी, श्रेष्ठ र विक डीआईजी बढुवा हुँदा प्रहरीकै इन्स्पेक्टरका रूपमा सेवा प्रवेश गरेको २०५४/१२/१८ भर्ना मितिका एसएसपी यो बढुवा सिफारिसमा छुटेका छन् ।
उक्त व्याचबाट यसअघि नै प्रहरी प्रवक्ता दानबहादुर कार्कीसहित डा. मनोजकुमार केसी र राजन अधिकारी डीआईजीमा बढुवा भइसक्नुभएको छ । राष्ट्रिय अनुसन्धानको टोली डीआईजी दर्जामा छिरेसँगै आगामी भदौमा परिवर्तन हुने प्रहरी नेतृत्वको प्रतिस्पर्धा रोचक हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्