जनता टाइम्स

११ मंसिर २०८१, मंगलवार १८:५२

अध्यक्ष र महासचिवको मानहानी गरेको आरोपमा एमाले बाँकेले निलम्बन गर्यो लुम्बिनी प्रदेशसभा सदस्य


काठमाडौं, मंसीर ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानी गरेको आरोपमा एक जना प्रदेश सांसद कार्वाहीमा परेका छन ।

एमाले बाँकेले अध्यक्ष ओली र महासचिव पोखरेलको मानहानी गरेको निश्कर्षसहित लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्वउपसचिव दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो ।

सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ छ । सांसद चौधरीसँग यसबारे स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जवाफ नदिएकाले निलम्बन गरिएको एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताउनु भयो ।

‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्याउने मनसायका साथ पार्टी अध्यक्ष ओली, महासचिव पोखरेलसमेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि निरन्तर गरेको कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो,’ अध्यक्ष गुरुङले बिज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु ।’

एमाले लुम्बिनीका सचिव लक्ष्मण आचार्यले जिल्ला कमिटीले निलम्बन गरेको जानकारी फोनमा जिल्लाले दिएको बताउनु भयो । एमालेको बिधानअनुसार जिल्लाले निलम्बन गरेको विषय प्रदेशले अनुमोदन गर्नुपर्छ ।

पूर्वमाओवादी नेता चौधरी नेकपा कालदेखि एमालेमै रहनुभएको नेता हुनुहुन्छ । बाँकेमा निलम्बनमा पर्नुभएका चौधरी, अर्को नेता रत्न खत्री सूर्य ढकाल र निरक गुरुङ सामाजिक सन्जालमा बिवादमै उत्रनुभएको छ । प्रदेश सांसद चौधरीले जिल्ला कमिटीले त्यो भन्दा माथिल्लो निकायमा रहेका व्यक्तिलाई निलम्बन गर्न नपाउने भन्दै अबैध काम खारेज हुने बताउनु भयो । चौधरी प्रदेश कमिटीका सल्लहकारसमेत हुनुहुन्छ ।