दैलेख, मंसीर १२ । यही मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगत हमालले नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गर्नुभएको छ । समाजवादी महाबु गाउँ कमिटीले समेत विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवार शाहीलाई समर्थ गरेको हो ।
एमालेका शाहीलाई समर्थन गर्दै समाजवादीका हमालले सबै महाबुबासीले एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । हमालले महाबुको विकास र एमालेले अघि सारेको समृद्धिको नारालाई पूरा गर्न आम महाबुबासीले एमालेलाई मतदान गर्नुपर्ने निश्कर्षमा पुगेको बताउनु भयो । उहाँले यसअघि नेपालीकाँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले महाबुका जनताको हितमा काम गर्न नसकेको आरोप पनि लगाउनु भयो ।
चुनावी अभियानमा केही दिनअघि महाबुमा रहेका एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले समाजवादी पार्टीबाट उम्मेदवार बन्नुभएका हमालले एमालेका जंगबहादुर शाहीलाई समर्थन गरेसँगै महाबुमा एमाले विजयी हुने आधार बलियो बनेको बताउनु भयो । ‘अन्य पार्टी भन्दा महाबुमा एमालेको जनमत बलियो छ । समाजवादीका उम्मेदवारले समर्थन गरेसँगै एमालेले चुनाव जित्ने निश्चित छ,’ अध्यक्ष शाहीले भन्नुभयो ।
घरदैलो अभियानमा रहँदा एमालेप्रति जनताको भरोसा रहकाले एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रहनुभएका जंगबहादुर शाहीले निर्वाचन जित्ने बताउनु भयो । दलहरूले आ–आफ्ना उम्मेदवारले जित्ने दाबी गर्दै अभियानमा गाउँ केन्द्रित भएका बेला हमालले शाहीलाई समर्थन गर्नुले महाबुको उपनिर्वाचन उलटफेर हुने देखिएको छ ।
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा समाजवादीका हमालले एमालेका शाहीलाई समर्थन गरेसँगै छ जनाउम्मेदवार चुनावी मैदानमा छन । छ जनामध्ये एमालेबाट जङ्गबहादुर शाही, नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश कुमार बुढा, नेपाल मञ्दुर किसान पार्टीबाट दुर्गबहादुर थापा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुजन कुमार रावत चुनावी मैदानमा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्