जनता टाइम्स

१२ मंसिर २०८१, बुधबार २१:११

जुवाखालबाट समातिए कांग्रेसका चर्चित नेता


रामेछाप , १२ मंसिर। सत्तारुढ नेपाली कांग्रेसका हस्ती मानिएका नेताहरू नै जुवाखालबाट समातिएका छन । सदरमुकाम मन्थलीस्थित एक नीजि घरबाट बुधबार साँझ ठूलो धनराशीसहित जुवा खेलिरहेको अवस्थामा कांग्रेसका चर्चित नेताहरु पक्राउ परेका हुन ।

यसरी पक्राउ पर्नेमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा गत निर्वाचनमा वडा नं. ३ का वडाध्यक्षका प्रत्यासी नारायण बोगटी, सो पार्टीका वडा नं. ८ का सभापति तथा सोही वडाका वडाध्यक्षका उम्मेदवाररहिसकेका ओम पुरीलगायत कांग्रेसका जिल्ला तथा नगरस्तरीय नेताहरू दीपेन्द्र खडका, नेत्र केसी, विनोद कार्की र कृष्ण उप्रेती रहेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मन्थलीको प्रहरी घटनास्थलमा पुग्नासाथ उहाँहरूले खाल थापेको पैसा लुकाएको बताइएको छ ।

रातको समयमा जुवा, तास खेलेर होहल्ला गर्ने घटना पटक–पटक दोहोरीएपछि स्थानीयले नै वाक्क भएर प्रहरीलाई सूचना दिएको जानकारी प्राप्त भएको छ । जानकारी दिने श्रोतले भन्यो ‘जो अगुवा उही बाटो ….भएपछि के गर्नु ? वाक्क भएर प्रहरीलाई गुहारेका हौं ।’ अहिले सो जिल्लाबाट निर्वाचित सांसद कान्छाराम तामाङ्गले उहाँहरूलाई छाड्न प्रहरीलाई दबाब दिइरहनु भएको प्रहरी श्रोतले जनाएको छ ।