जनता टाइम्स

१४ मंसिर २०८१, शुक्रबार १०:५३

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, नीतिगत व्यवस्थामा भएन परिवर्तन (पूर्णपाठ)


काठमाडौं, मंसिर १४ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामा गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ । सो नीतिबाटै मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ ।

‘अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृष्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको हो,’ मौद्रिक नीति समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ, ‘मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पुर्याउने गरी तरलता व्यवस्थापन गर्दै गएका छौं ।’

केन्द्रीय बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ । यसैगरी अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ ।