जनता टाइम्स

१४ मंसिर २०८१, शुक्रबार १४:१६

राष्ट्रपति–प्रधानमन्त्रीसँग भेटबार्ता र बिश्वबिद्यालयमा सम्बोधनदेखि यस्ता छन प्रधानमन्त्री ओलीको चीन भ्रमण कार्यतालिका


काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

चिनियाँ समकक्षी ली छ्याङको औपचारिक निमन्त्रणा प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गर्न लाग्नुभएको छ । प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि २० गतेसम्म (डिसेम्बर २–५सम्म) सम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । भ्रमण टोलीमा उहाँकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीसहित ८७ जना रहने तय भएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नुका साथै टोलीमा सहभागी सरकारी र नीजि क्षेत्रको प्रतिनिधिको नाम टुंग्याएको हो । मंसिर १७ गते बेइजिङ प्रस्थान गर्नुहुने प्रधानमन्त्री ओलीले १८ गते नै राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भेटका अवसरमा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । यसैगरी प्रधानमन्त्री ओलीले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल–चीन व्यापार मञ्च नेपालस्थित चिनियाँ दूतावास, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद र नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा आयोजना हुँदैछ ।

प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विहीबार नै चीन जानुभएको छ । राणा उतैबाट प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने मन्त्रालयकोभ नाई छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंसिर २० गते स्वदेश फर्कने छ ।