काठमाडौं, मंसिर १४ । भारतीय आपराधिक समुहको नाम लिएर उद्योगी ब्यवसायीलाई फिरौती माग्दै धम्की दिने समुह मेडिकल ब्यवसायी दुर्गा प्रसाईंबाट परिचालित रहेको तथ्य खुलेको छ ।
ब्यवसायी धम्क्याउनेमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेपछि प्रसाईंले नै ब्यापारी धम्क्याउन परिचालन गरेको तथ्य खुलेको हो । प्रहरीले बिशेष सूचनाको आधारमा भारतीय नम्बरबाट फोनकल तथा मेसेजमार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिने ब्यक्तिलाई झापाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर साविक मौवा गाविस वडा नं. ६ घर भई हाल जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं. १३ चारआली बस्ने वर्ष ३६ को नविन प्रधान भन्ने हरिचन्द्र फुयाल रहेको प्रहरीको भनाई छ । उनले नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिहरुलाई भारतीय नम्बरबाट फोनकल तथा मेसेज मार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने भन्दै व्यवसायीहरुलाई आतंकित पार्दै आएको पाइएको छ ।
यस्तै उनले बैंकर र उद्यमीलाई धम्क्याएर फिरौती मागेको समेत पाइएको छ । उनलाई बुधबार बेलुका झापा, मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउपछि प्रारम्भिक अनुसन्धान गर्दा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरुलाई धम्की दिने कार्य मेडिकल ब्यावसायी दुर्गा प्रसाद प्रसाईको निर्देशनमा गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका नविन यसअघि पनि विभिन्न कसुरमा संलग्न भई फरार रहेको तथ्यसमेत खुलेको बताएको छ । प्रहरीले नविनको साथबाट भिभ र रेडमी कम्पनीका एक–एक थान मोबाइल बरामद भएको जनाएको छ । सो घटनाको बिस्तृत अनुसन्धान अघि बढेको जानकारी पनि प्रहरीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्