काठमाडौं, मंसिर १५ । अन्टसन्ट बोलेर चर्चामा आउनुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी सार्वजनिक गरिएको ‘प्रमाण’ फर्जी रहेको स्वीकार गर्नुभएको छ ।
सरकारी वकिलको रोहबरमा भएको बयानको क्रममा प्रसाईले बिना चेकजाँच प्रमाण सार्वजनिक गर्दा गल्ती भएको र सो प्रमाण फर्जी रहेको स्विकारोक्ति गर्नुभएको हो । अनुसन्धानमा संलग्न नेपाल प्रहरीको साइबर ब्यूरोका एक अधिकृतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार प्रसाईंले प्रधानमन्त्री ओलीबिरुद्धको काजग फर्जी रहेको तथ्य सार्वजनिक भएलगत्तै आफूले जानकारी पाएको बयानसमेत दिनुभएको छ ।
बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागजलाई प्रमाणीकरण नगरी त्यत्तिकै बाहिर ल्याउनु आफ्नो गम्भीर गल्ती भएको स्वीकार गरेको ती अधिकृतको भनाई छ । ‘ह्वाट्सएपमा जस्तो कागज आयो त्यस्तै बाहिर ल्याएँ, मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपर्थ्यो । त्यो काम नगरी कागज सार्वजनिक गर्दा गल्ती भयो’, बयानको क्रममा प्रसाईंको भनाइ उद्धृत गर्दै ती अधिकृतले भने, ‘अहिले त पुष्टि भइसकेको छ । खासमा ती कागजहरू सवै फर्जी नै थिए ।’
प्रसाईंले यही मंसिर ३ गते आफू निकटका युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको गम्भीर आक्षेप लगाउनु भएको थियो । आफ्नो दाबीलाई पुष्टि गर्न प्रसाईंले ‘यो हो प्रमाण’ भन्दै एउटा कागज सार्वजनिक गर्नुभएको थियो । सोही कागज फर्जी रहेको तथ्य प्रसाईं आफैले बयानको क्रममा खोल्नुभएको हो ।
प्रहरीले प्रारम्भिक जाँच गर्दा नै प्रसाईंको त्यो कागज फर्जी रहेको भेटिएपछि मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । सो कागजको बिषयमा अनुसन्धान अधिकृतहरूले पनि हस्ताक्षरको जाँच गराएका थिए । त्यसक्रममा पनि हस्ताक्षर नमिलेको रिपोर्ट आएको थियो ।
ह्वाट्सएपमा जस्तो कागज आयो त्यस्तै बाहिर ल्याएँ, मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपर्थ्यो । त्यो काम नगरी कागज सार्वजनिक गर्दा गल्ती भयो । अहिले त पुष्टि भइसकेको छ । खासमा ती कागजहरू सवै फर्जी नै थिए ।
युट्युबरहरूसँग प्रसाईंले ‘यो प्रमाण ल्याउनलाई १ करोड ११ लाख’ खर्चेको दावीसमेत गर्नुभएको थियो । तर, प्रसाईंले बयानमा रकम खर्च गरेको भन्ने कुरा नै गलत भएको बताउनु भएको छ । प्रहरीले प्रसाईंविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । भारतको आछामबाट प्रसाईंका सहयोगी नविन प्रधान भनिने हरिचन्द्र फुयाँल पक्राउ परेसँगै प्रसाईंमाथि आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान थालिएको हो ।
फुयाँलले प्रसाईंको निर्देशन अनुसार, नेपालका विभिन्न व्यवसायी र पेशाकर्मीलाई दुर्गा प्रसाईंको अभियानमा सहयोग गर्न भन्दै धम्की दिने गरेको प्रहरीको भनाइ छ । यही कारण साइबर अपराधको कसुरमा साइबर ब्यूरो र उद्योगी ब्यवसायीलाई धम्की दिएको विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्