विराटनगर, मंसिर २२ । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले नेतृत्वको सरकारले राम्रो काम गरिरहेको तथ्य सुनाउनु भएको छ।
नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको शनिबार विराटनगरमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो तथ्य राख्नुभएको हो । उहाले राजनैतिक स्थायित्व र सरकारको स्थिरताका लागि नयाँ गठबन्धन बनाइएको जानकारी पनि दिनुभयो।
सभापति देउवाले एमालेसँगको सहकार्यप्रति ढुक्क रहन कांग्रेस पंक्तिलाई आग्रहसमेत गर्नुभयो। सभापति देउवाले भन्नुभयो, ‘वर्तमान गठबन्धनलाई २०८४ सम्म निरन्तरता दिइनेछ।’
नेपालले कुनै पनि मुलुकसँग अनावश्यक ऋण लिन नहुने जिकिर गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेको प्रष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाअन्तर्गत अनुदानमा मात्रै सहमति गरेर आएको उहाले प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै सभापति देउवाले भन्नुभयो, ‘उहाँले चीनसँग ऋण लिएको कुरा गर्नुभएन। हामी ऋणको खिलाफ होइन। तर, विश्व बैंक लगायतसँग ऋण लिएका छौं, अन्य राष्ट्रसँग ऋण लिने नीति छैन, ऋणको भार धेरै हुँदा अप्ठ्यारो पर्न सक्ने भएकोले उहाँले महत्त्वपूर्ण निर्णय गरेर आउनुभएको छ।’
सभापति देउवाले वडा वडामा पार्टीको संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै प्रदेश सम्मेलनबाट आएका सुझाव र मार्गदर्शनहरूलाई केन्द्रीय समितिमा लगेर छलफल गराइने जानकारी पनि दिनुभयो।
प्रतिक्रिया दिनुहोस्