जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार २२:१३

राष्ट्रपति भण्डारी जापानी सम्राट्को गद्दी आरोहणमा सहभागी, बुधवार स्वदेश फर्कदै


श्याम रिमाल, जापान ५ । राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा आज अपराह्न सहभागी हुनुभएको छ इम्पेरियल प्यालेसमा भएको समारोहमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि सहभागी हुनुभयो । नयाँ सम्राट्लाई बधाई तथा शुभकामना दिन करीब १८० देशका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि राजधानी टोकियो आउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार राजधानी टोकियो आउनुभएको थियो ।

स्थानीय समयानुसार अपराह्न १ देखि १ः३० सम्म भएको समारोहमा राजा नोरुहितो क्रिसान्थेमम थ्रोन भनिने राजसिंहासनमा आसन ग्रहण गर्नुभयो । साम्राज्ञी मासाकोले पनि आफ्ना आसन ग्रहण गर्नुभयो । समारोहमा अतिथिहरुले सम्राट् र साम्राज्ञीप्रति उठेर शुभकामना तथा सम्मान जाहेर गरेका थिए ।। समारोहमा सम्राट् नोरुहितोले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले आफ्ना पिता अकिहितो जस्तै जनताको सुखदुःखमा सहभागी भई शान्तिका लागि काम गर्ने बताउनुभयो । प्रधानमन्त्री सिन्जो आबेले चियर्स गरी बधाई मन्तव्य दिँदै जापानी सम्राट् राष्ट्रिय एकताको प्रतीक भएको बताउनुभयो । समारोहका अवसरमा इम्पेरियल प्यालेस बाहिर पानी झमझम नै परिरहेको थियो ।

आजै साँझ गद्दी आरोहणका उपलक्ष्यमा अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना गरिएको थियो । राजकीय भोजमा राष्ट्रपति भण्डारी अन्य अतिथिहरुसँगै सरीक हुनुभयो । राजदूत राणाका अनुसार प्रधानमन्त्री आबेले बुधबार राजदूतहरुका लागि भोजको आयोजना गर्नुभएको छ भने सम्राट् नोरुहितोबाट कात्तिक १४ गते भोजको आयोजना हुनेछ । सन् १९६० फेब्रुअरी २३ मा जन्मनुभएका सम्राट् नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसीन हुनुभएपछि रिवा युग शुरु भएको मानिएको छ ।

आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी परित्याग गरेपछि उहाँ जापानका १२६ औँ सम्राट् हुनुभएको हो । सानोमा पर्वतारोहण, घोडचढी र भ्यायलनमा रुचि राख्ने उहाँ हाल जल नीति र जल संरक्षणमा अभिरुचि राख्नुहुन्छ । उनन्साठी वर्षीय नारुहितोले आफू गत मेमा सम्राट् बनेपछि राज्य र एकताको प्रतीक बन्ने घोषणा गर्नुभएको थियो ।

पूर्वी एशियामा पर्ने जापानमा संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ । प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन् । तल्लो सदनमा ४८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २४२ सदस्य छ वर्षका लागि चुनिन्छन् । जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ ।

गद्दी आरोहण समारोहका लागि राष्ट्रपतिसहितको प्रतिनिधिमण्डलका सदस्य बनी गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी तथा सञ्चारकर्मी पनि यहाँ आउनुभएको थियो । रासस