जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ०९:५६

नीति प्रष्ट छ, यो हाम्रो बटमलाइन हो : प्रधानमन्त्री ओली


काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलनले तय गरेका विश्व शान्ति, न्याय र समानताका सूत्र एवं मूल्यहरूप्रति आजका दिनमा पनि प्रतिबद्ध हुनु आवश्यक रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनसँग मङ्गलबार राति समसामयिक विषयमा कुरा गर्दै उहाँले विश्वमा अहिले पनि अशान्तिको खतरा रहेको चर्चा गर्दै शान्तिको पक्षमा क्रियाशील हुनु जरुरी रहेको बताउनुभएको हो ।

“त्यसप्रति नेपाल प्रतिबद्ध छ । पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता र स्वाधीनताको सम्मानजस्ता विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन,” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले १८औँ शिखर सम्मेलनले असंलग्न आन्दोलनका आधारभूत सिद्धान्त र आजको आवश्यकतालाई सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले नेटो र वार्सा सङ्गठनमा विभक्त विश्व परिस्थितिमा तटस्थताका लागि असंलग्न आन्दोलन जन्मिएको चर्चा गर्दै विश्व आज व्यापारिक, आर्थिक, प्रविधिको प्रतिस्पर्धामा रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय जगतमा पनि सबै राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलनले तय गरेका असंलग्न आन्दोलनका नीतिहरूसँग नेपाल सहमत रहेको र संयुक्त राष्ट्रसङ्घको वडापत्रका असंलग्न आन्दोलनका सिद्धान्तहरूप्रति निष्ठा रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भर्खरै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट दुई देशबीच बृहत्तर राष्ट्रिय पारस्परिक हित, सम्मान र विश्वासको जगमा उठेको दीर्घकालीन मित्रता कायम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा महìवपूर्ण कुरा मित्रता हो । मित्रता छ भने सबै कुरा छ । मित्रता छैन भने केही पनि छैन । सबै अपेक्षाहरू मित्रताबाट हासिल हुन्छन् । मित्रताविनाका अपेक्षाहरू ती काम लाग्दैनन । धोका हुन्छन । असम्भव हुन्छन ।” उहाँले चीनका राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको मित्रता असाधारण ढङ्गले सुदृढ, व्यापक र उचाइमा उठेको बताउनुभयो । “यो मित्रता दुई सरकार, दुई नेता, दुई पार्टीबीचको मित्रता जस्तो मात्र होइन । त्योभन्दा व्यापक कुरा हो । दुई देशका बीचको मित्रता हो । त्यसकारण यो मित्रतालाई यो वा त्यो सहमतिको सीमाभित्र मात्र नाप्नु हुँदैन,’ उहाँले भन्नुभयो ।

उहाँले नेपाल र चीनबीच भएको रणनीतिक साझेदारीप्रति कुनै भ्रम नराख्न आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “यो कुनै मिलिटरी साझेदारी वा राजनीतिक गठबन्धन हो जस्तो लागेको छ भने त्यो होइन । यो साझा, समृद्ध भविष्यतर्फ उन्मुख, साझा प्रतिबद्धताको अभिव्यक्ति र पारस्परिक विश्वास र सहयोगको उच्चस्तरीय दीर्घकालीन आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोगको आदानप्रदान र सहकार्य हो ।”
उहाँले एउटा अलि पछाडि परेको मित्रले अलि अगाडि बढेको मित्रबाट सहयोग प्राप्त गर्नु स्वाभाविकै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय राजनीतिक सन्तुलमा पनि यसका फाइदा छन् । कसैका भिन्न उद्देश्य छन् अथवा गुप्त उद्देश्य छन् भने त्यो त म जान्दिनँ । त्यस्ता उद्देश्यका कारणले विरोध गर्नुपर्ने छ भने मलाई थाहा छैन । तर नेपालले दुई देशका बीचका सम्बन्धहरू राखेको र अन्तर्राष्ट्रिय रूपमा विश्व भाइचारा र मित्रताको पक्षमा नै योगदान गर्छ यसले ।”

उहाँले सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुता भन्ने स्पष्ट नीति नेपालको रहेको समेत स्पष्ट पार्नुभयो ।  “कुनै पनि देशसँग सहमति, सम्झौता र समझदारी गर्दा अर्को कसैकोविरुद्ध गर्दैनौँ । यो हाम्रो बटम लाइन हो । आफ्नो पक्षमा दुई पक्षीय गर्छौं ,”  उहाँले भन्नुभयो, “राष्ट्रपति सी भारत हुँदै आउनुभयो । त्यहाँ पनि त्रिदेशीय सम्बन्ध सहकार्यका बारेमा कुरा चल्यो । हामी त्रिदेशीय सम्बन्धलाई अगाडि बढाउने पक्षमा छौँ ।” उहाँले चीन र भारतको मित्रता निकै बढेको र त्यसबाट आफू निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला, बलिया छिमेकीको बीचमा तनाव भयो भने हामीलाई त्यसै नराम्रो हुन्छ । तनाव भएन मित्रता भयो, पारिस्परिक विश्वास बढ्दै गयो भने हामीलाई यसै फाइदा हुन्छ ।”

उहाँले नेपाल, चीन र भारत तीनवटै देश विकासका प्रश्नमा साझेदारी, सहकार्य गरी अगाडि बढ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक, छिमेकीलगायत थुप्रै हिसाबले भाग्यहरू जोडिएका पनि छन् । त्यसैले विकास, पूर्वाधार र सामाजिक प्रवन्धका अनेक कुरामा सहकार्य गर्नु पनि छ ।” प्रधानमन्त्री ओलीले एसियाका सबभन्दा ठूला, बलिया देशहरू एकै ठाउँ हुँदा त्यसले विश्व शान्ति, स्थिरता र स्थायित्वका लागि योगदान पुर्याउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राजनीति, सरकार र शासनलाई राजनीतिक गफको अखडा नबनाई विकासका प्रयासमा केन्द्रित गर्ने गरेको बताउनुभयो । उहाँले जनतामा आशावादिता जगाउनु, जनता आशावादी हुनु र निराशाबाटमुक्त हुनुको महत्व धेरैले नबुझेको र केहीले बुझपचाएको बताउनुभयो । उहाँले विश्व मञ्चमा नेपालले विचार र सन्देशसाथ सहभागी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समुचित नीति, स्पष्ट दृष्टिकोणसहित अन्तर्राष्ट्रिय मञ्चमा जान्छौँ । त्यसले गर्दा हाम्रो कुरो त्यहाँ सुनिन्छ । त्यसैले नेपालको परिचय र प्रतिष्ठा माथि उठेको छ ।”