रुपन्देही, पुस २। गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको भन्द रोक्नका लागि सवै प्रयाश गर्न निर्देशन दिनुभएको छ ।
भैरहवामा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको भन्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने र चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने बताउनु भयो ।
अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने गृहमन्त्री लेखकले बताउनु भयो । उहाँले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको औँल्याउँदै कडाइका साथ रोक्ने काम थाल्नुपर्ने बताउनु भयो ।
समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्री लेखकले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको र त्यो स्वीकार्य नहुने प्रष्ट पार्नुभयो । लुम्विनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तीको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने गृहमन्त्री लेखकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्