जनता टाइम्स

२ पुष २०८१, मंगलवार १७:१२

केपी ओलीको कारण ऐतिहासिक सम्पदा गुणस्तरीय बने, ललितपुरलाई देशकै सबैभन्दा सफा शहर बनाउन चाहन्छौं : मेयर महर्जन


काठमाडौं, पुस २ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहेको बताउनु भएको छ ।

मंगलबार महानगरको स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम भइरहेको पनि बताउनु भयो ।

प्रमुख महर्जनले प्रधानमन्त्री केपी शर्मा ओलीको दूरगामी दृष्टिकोणको कारण प्राचीन र ऐतिहासिक महत्वका सम्पदा गुणस्तरयुक्त बनेका बताउनु भएको छ । महर्जनले ओली प्रधानमन्त्री हुँदा ऐतिहासिक सम्पदा बनाउने सम्बन्धी छुट्टै ऐन बनाइदिएका कारण निर्माण व्यवसायीले बदमासी गर्न नपाएका बताउनु भयो । ललितपुरमा २०७२ सालको भूकम्प पछि क्षति भएका पुरातात्विक महत्वका सम्पदाहरू एक नम्बरका बनेका महर्जनको भनाई छ ।

केही निर्माण व्यवसायीको लापरबाहीका कारण ललितपुरमा कतिपय संरचना निर्माणको काममा ढिलाइ भएको भन्दै उहाँले प्रधानमन्त्रीलाई त्यसमा हस्तक्षेप गर्न अनुरोध गर्नुभयो । प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने हो भने ती काम पुरा नहुने स्थिति बनेको महर्जनले बताउनुभयो ।

महर्जनले धापाखेलको बाटो निर्माणमा भएको ढिलाइको कारण आफूहरूलाई निक्कै समस्या भएको बताउनुभयो । यसले महानगलाई निक्कै अप्ठेरो पारेको महर्जनले सुनाउनुभयो । नेपाल सरकारसँग सो सडक बनाउने बजेट नभए मुआब्जा केन्द्र सरकारले दिएमा सडक निर्माणको काम महानगरले गर्ने उहाँले बताउनुभयो ।

महर्जनले ललितपुर महानगरपालिका सबैभन्दा सफा नगर बन्ने अभियानमा लागेको जानकारी दिनुभयो । ‘हामी ललितपुर नगरपालिकालाई सबैभन्दा सफा नगरपालिका बनाउन चाहन्छौँ’, उहाँले भन्नुभयो । उहाँले सबैभन्दा लामो दिन ज्येष्ठ पूर्णिमालाई नेपालको म्युजिक डे घोषणा गर्न पनि माग गर्नुभयो । त्यसको इतिहास ललितपुरसँग जोडिएकोले सो दिनको विशेष महत्त्व हुने उहाँले स्पष्ट पार्नुभयो ।

‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला,’ मेयर महर्जनले भन्नुभयो ।

ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताउँदै मेयर महर्जनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

‘तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ,’ मेयर महर्जनले भन्नुभयो, ‘त्यहाँ काम भइरहेको छ । दायाँबायाँका घरधनीहरू मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौं भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन ।’ उहाँले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाइओभर र एकान्तकुनामा अन्डर पास बनाउन जरुरी रहेको पनि बताउनु भयो ।