जनता टाइम्स

२ पुष २०८१, मंगलवार २०:०३

अख्तियार र भ्रष्टाचारसम्बन्धी विधेयकमा संसदीय समितिमा जुट्यो सहमति, उपसमितिले बुझायो प्रतिवेदन


काठमाडौं, पुस २ । संसदीय उपसमितिबाट अख्तियार र भ्रष्टाचारसम्बन्धी दुई वटा विधेयक पारित भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वटै विधेयकमाथि छलफल गरी प्रतिवेदन पेस गर्ने गरी नेपाली कांग्रेसका सांसद हृदयराम थानीको नेतृत्वमा गठित उपसमितिले दुइटै विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।

संयोजक थानीले मूल समितिलाई दुवै विधेयकको प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । उहाँका अनुसार दुवै विधेयकको प्रतिवेदन मूल समिति समक्ष बुझाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले गत कात्तिक २५ गते अख्तियार ऐन संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन गरेको थियो ।

१२ सदस्यीय उपसमितिको सदस्यहरुमा अशोक राई, चन्दा कार्की भण्डारी, दिलेन्द्रप्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सरिता प्रसाईं, सवेन्द्र नाथ शुक्ला र हितराज पाण्डे सदस्य हुनुहुन्छ । उपसमितिलाई भ्रष्टाचार ऐन संशेधन विधेयकमाथि छलफल गर्ने जिम्मेवारी दिइएको थियो ।

दुवै विधेयक २०७६ सालमै संसदमा आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता गर्नुभएको दुवै विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।

प्रतिनिधि सभाले सैद्धान्तिक छलफल गरेर २०८० साल भदौ ३१ गते दुइटै विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो । राज्य व्यवस्था समितिले उपसमिति गठन गरेर विधेयकउपर चलफल चलाएको हो ।