जनता टाइम्स

५ पुष २०८१, शुक्रबार ०८:३२

पुस ७ देखि १३ सम्म आंशिक बन्द हुँदै नौबिसे-मुग्लिन सडक


काठमाडौं, पुस ५ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन खण्ड पुस ७ देखि १३ सम्म आंशिक बन्द हुने भएको छ । नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो ।

नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी साधन आंशिक रूपमा रोकी निर्माण कार्य गरिने छ । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी र पश्चिम खण्ड) तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले संयुक्त रूपमा जारी सूचना नै जारी गरी सडक बन्द हुने जनाएको छ ।

‘पहाडको माटो काट्नुपर्ने भएकाले कार्यालयको आग्रह र समन्वयमा राजमार्ग आंशिक बन्द हुन लागेको हो,’ देवकोटाले भने । उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

पोखरेभीरको मोड सुधारका लागि उक्त अवधिमा नौबिसेबाट गजुरी छिर्ने भारी सवारीलाई गल्छी–बैरेनी र हलुका सवारीलाई जरेखेतमा रोकिनेछ । मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीलाई चालिसे र हलुका सवारीलाई घाटबेंसीमा रोकिनेछ । विशालटारको मोड सुधारका लागि मुग्लिनतर्फबाट मलेखु छिर्ने भारी सवारीलाई मझिमटार र हलुका सवारीलाई चरौंदी बजारमा रोकिनेछ ।

मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीलाई बेनीघाट र हलुका सवारीलाई विशालटारमा रोकिनेछ । आंशिक रूपमा रोकिने सवारी दिउँसो २ बजेपछि मात्र छाड्ने सूचनामा उल्लेख छ । सवारी चलाउँदा लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।