जनता टाइम्स

५ पुष २०८१, शुक्रबार ०८:४५

सिडिओ कार्यालयबाटै पक्राउ परे पालिका अध्यक्ष


गुल्मी, पुस ५ । गुल्मीको कालिगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा मगरले जिल्ला प्रशासन कार्यालय, गुल्मीको स्क्यानर फुटाउनु भएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर फुटाएको आरोपमा थापा पक्राउ पर्नुभएको हो । थापाले स्क्यानर फुटाएपछि शुक्रबारको राहदानी सेवा समेत अवरुद्ध हुन सक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो ।

स्क्यानरको मुल्य भने प्रशासनले केही बताएको छैन । ‘स्क्यानरको मुल्यभन्दा पनि सेवा नै प्रभावित हुने भयो,’ प्रजिअ गौतमले भन्नुभयो, ‘पालिका अध्यक्ष अभद्र व्यवहारमा प्रस्तुत हुनुभयो ।’ प्रशासनमा पहिला आउने व्यक्तिले टोकन लिने र उसैले पहिले सेवा लिने भन्ने प्रावधान रहेको छ ।

तर अध्यक्ष थापाले कालिगण्डकी भुगोलका हिसाबले टाढा रहेकोले आफ्नो पालिकाका नागरिकलाई विशेष व्यवस्था गर्न माग गरेकोमा त्यसो नभएकोले स्क्यानर फुटाएको बताउनु भयो । ‘आफ्नो पालिकाका नागरिकको न्यायका लागि जहाँ पनि जान तयार छु,’ थापाले भन्नुभयो । प्रजिअ गौतमले घटनाको बिषयमा गृह मन्त्रालयलाई जानकारी गराएको र थप छलफल भइरहेको जानकारी दिनुभयो ।