जनता टाइम्स

६ पुष २०८१, शनिबार १७:३७

एनपीएलमा दीपेन्द्र बने सर्वोत्कृष्ट नेपाली, पाए कार पुरस्कार


काठमाडौं, पुस ६। सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाउनु भएको छ ।

आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउनु भएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पार्नुभएको हो । उहाँले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गर्नुभएको छ । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मार्नुभएको हो ।

टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानीदेखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्नुभएको थियो । कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडीका रुपमा दीपेन्द्रलाई लिइन्छ ।

क्वालिफायर वान मा सुदूरले जनकपुरलाई हराएपछि प्लेअर अफ दि म्याच बनेका सुदूरका खेलाडी विनोद भण्डारीले पनि दीपेन्द्र नै अहिले बेस्ट प्लेअर भएको बताउनु भएको थियो । दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाउनु भएको छ ।

उहाँले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बन्नुभएको थियो । त्यसपछि उ्हाँले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गर्नुभयो । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका दीपेन्द्रले लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडनुभएको थियो ।

चितवन विरुद्ध १ रनमा आउट भएका उहाँले जनकपुरविरुद्ध खाता खोल्न सक्नुभएन । पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन र क्वालिफायर वान मा जनकपुरविरुद्ध २० रन बनाउनु भएको थियो । यस्तै उहाँले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो ।

दीपेन्द्रले बलिङमा ९ खेलमा कुल ९ विकेट नै लिनुभएको छ । फाइनलमा भने दीपेन्द्र खासै चम्कन सक्नुभएन । उहाँले ब्याटिङमा ९ रनमा आउट हुँदा बलिङमा १ विकेट मात्र लिन सक्नुभयो ।

त्यस्तै प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैबले पाउनुभएको छ । सेफले ५ लाख रूपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बनेर मोटरसाइकल पुरस्कार प्राप्त गर्नुभयो । यस्तै उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्मा बन्नुभयो । उहाँले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाउनु भएको छ ।

त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाउनु भयो । उहाँले २ लाख रूपैयाँ प्राप्त गर्नुभयो । यसैगरी म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाउनुभयो । फेयर प्ले अवार्ड भने लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।