काठमाडौं, पुस ७ । अव सरकारी कर्मचारीले नेपालमै उत्पादित पोशाक लगाउनु पर्ने भएको छ । सरकारले कर्मचारीले स्वदेशमै उत्पादित पोशाक लगाउनु पर्ने व्यवस्थासहितको प्रावधान समेटेर ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ ल्याएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको निर्देशिकामा सार्वजनिक निकायमा कार्यरत कर्मचारी र पदाधिकारीले स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने ब्यवस्था राखिएको छ । मन्त्रालयले तयार पारेको निर्देशिकाको बुँदा नम्बर ५ मा ‘स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने’ सम्बन्धी व्यवस्था गरिएको छ । ‘सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक प्रयोग गर्नु पर्नेछ,’ दफा नम्बर ५ को उपदफा १ मा उल्लेख छ ।
निर्देशिकाले सार्वजनिक निकायको परिभाषामा सार्वजनिक खरिद ऐन २०६३ को परिभाषालाई नै राखेको छ । जस अन्तर्गत संवैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, प्रदेश सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग र यस अन्तर्गतका जुनसुकै सरकारी निकाय र कार्यालय पर्दछन । यसअनुसार राज्यका सबै अंग र त्यस अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारी र पदाधिकारीहरूले उपलब्ध भएसम्म नेपालमै उत्पादित पोशाक प्रयोग गर्नुपर्ने भएको छ ।
सार्वजनिक निकायको परिभाषामा नेपाल सरकार र प्रदेश सरकारको स्वामित्व रहेको वा नियन्त्रणमा रहेको संस्थान, कम्पनी, बैंक वा समिति समेत पर्दछन् । सरकारले गठन गरेका आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद समेत यसभित्र समेटिन्छन । विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र र अन्य प्राज्ञिक वा शैक्षिक संस्था पनि सार्वजनिक निकाय हुन । स्थानीय सरकार, विकास समिति ऐन २०१३ बमोजिम गठित विकास समिति, नेपाल सरकार र प्रदेश सरकारको ऋण वा अनुदानमा संचालित संस्था र सरकारले सार्वजनिक निकाय भनेर तोकेका अन्य निकाय पनि सार्वजनिक निकाय अन्तर्गत पर्दछन् ।
यी सबैमा कार्यरत कर्मचारी र पदाधिकारीले नेपालमै उत्पादित पोशाक लगाएर मात्रै पुग्ने छैन । कसैलाई उपहार दिँदा समेत स्वदेशी वस्तुको प्रयोग गर्नु पर्ने भएको छ । ‘सार्वजनिक निकायका पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नु पर्नेछ,’ निर्देशिकाको बुँदा नम्बर ५ को उपदफा २ मा भनिएको छ । सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रम, गोष्ठी वा सेमिनारमा आवश्यक पर्ने वस्तुको प्रयोग गर्दा स्वदेशी वस्तुको प्रयोग गनुपर्ने प्रावधान पनि निर्देशिकाको दफा नम्बर ५ को उपदफा ३ मा छ ।
स्वदेशी वस्तुको प्रयोग गरेर मात्रै हुने छैन । के कस्ता स्वदेशी वस्तुको प्रयोग गरेको हो भनेर विद्युतीय पोर्टलमा राख्नुपर्ने ब्यवस्थासमेत गरिएको छ । ‘सार्वजनिक निकायले आफूले खरिद गरेको स्वदेशी वस्तुको विवरण तथा रकम उपदफा २ बमोजिमको विद्युतीय पोर्टलमा प्रविष्ट गर्नु पर्नेछ’ निर्देशिकाको दफा नम्बर ३ को उपदफा ६ मा भनिएको छ ।
निर्देशिका अनुसार सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले स्वदेशी वस्तुको नाम, परिणाम, खुद्रा तथा थोक बिक्री मूल्य, उत्पतिको प्रमणपत्र, उत्पादनको गुणस्तर र मापदण्ड लगायत स्पेसिफिकेसन संलग्न गरी ‘नेपाली उत्पादन’ नामक विद्युतीय पोर्टलमा सूचीकृत गराउनु पर्नेछ । यस्तो सूचीकृत गर्ने कार्य तथा व्यवसायसँग सम्बन्धित निजी क्षेत्रका छाता संगठन वा वस्तुगत संघले आवश्यक समन्वय र सहयोग गर्नुपर्ने विषय पनि निर्देशिकामै छ ।
प्रतिक्रिया दिनुहोस्