प्रहरी अनुसन्धानले गोर्खा मिडिया नेटवर्कबाट कुल १२३७ चेक काटिएकामा ८१४ चेक लामिछाने एक्लैले काटेको तथ्य पनि बाहिर आएको छ । ‘गोर्खा मिडिया नेटवर्क प्रालिबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा कुल १२३७ चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रुपैयाँ भुक्तानी भएको देखिन्छ । सोमध्ये ८१४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २ सय ४६ रुपैयाँ बराबरको भुक्तानी लामिछानेको एकल हस्ताक्षरित चेकबाट भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
पोखरा, पुस ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रबि लामिछानेले पार्टी खोलेपछि पनि गोर्खा मिडियाको प्रबन्ध निर्देशकको हैसियतमा चेक काटेको र आफ्नो नाममा पैसा सारेको तथ्य खुलेको छ । कास्की प्रहरीले ३ महिनामा गरेको अनुसन्धानले यो तथ्य उजागर गरेको हो ।
अनुसन्धानले सहकारी, गोर्खा मिडिया, जीबी राई र रवि लामिछानेबीचको कारोबारको विस्तृत पाटोसमेत खुलाएको छ । पोखराको सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट कुल ६७ करोड ४८ लाख रुपैयाँ गोर्खा मिडियामा लगेर अपचलन गरिएकोमा ४८ करोड ५८ लाख २२ हजार रुपैयाँ लामिछानेले एकल हस्ताक्षरबाट खर्च गरेको प्रमाण अदालतमा पेस भएको छ ।
प्रहरी अनुसन्धानले गोर्खा मिडिया नेटवर्कबाट कुल १२३७ चेक काटिएकामा ८१४ चेक लामिछाने एक्लैले काटेको तथ्य पनि बाहिर आएको छ । ‘गोर्खा मिडिया नेटवर्क प्रालिबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा कुल १२३७ चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रुपैयाँ भुक्तानी भएको देखिन्छ । सोमध्ये ८१४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २ सय ४६ रुपैयाँ बराबरको भुक्तानी लामिछानेको एकल हस्ताक्षरित चेकबाट भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
अनुसन्धान प्रतिवेदन अनुसार ४५ वटा चेक सहकारीको किस्ता भुक्तान गर्न लामिछाने आफैंले काटेको प्रमाण पनि राखिएको छ । प्रहरी प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीको किस्ता तिर्न लामिछानेले एक वर्षसम्म हरेक महिना नियमित रूपमा चेक काटेको पाइएको छ ।
सूर्यदर्शन सहकारीको ब्याज भुक्तान गर्न लामिछानेले १२ महिनासम्म काटेका चेकको विवरण अभियोजनपत्रको पृष्ठ २९५ मा तालिकासहित राखिएको छ । सूर्यदर्शनबाट लिएको ऋण तिर्न लामिछाने स्वयंले हस्ताक्षर गरेर चेक काटेकाले उहाँले जानीबुझी गैरकानुनी रकम स्थानान्तरण गरेको पुष्टि भएकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर स्थापित हुने प्रतिवेदनको दाबी छ ।
‘२०७८ असार ३१ देखि २०७९ असार ३० सम्मको समयावधि रहने गरी एक करोड कर्जा रकम १४.७५ प्रतिशत ब्याजदर हुने गरी रवि लामिछानेका नाममा कर्जा प्रवाह गरेको देखिन्छ । गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको खाताको चेकबाट मासिक रूपमा दुई वटा १ लाख १२ हजार वा एकै पटक २ लाख २४ हजारका चेकमार्फत नियमित रूपमा आफैंले दस्तखत गरी, आफू नै सेयरधनी तथा प्रबन्धकसमेत भएको कम्पनीबाट, आफू नै ऋणी भएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतका सहकारी संस्थाहरूमा भुक्तानी दिएको तथ्यांकले उनले लिएको ऋण गोर्खा मिडियामा प्रयोग भएको देखियो,’ अभियोगपत्रमा भनिएको छ ।
त्यस्तै, लामिछानेले कम्पनीबाट अलग भएर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि पनि गोर्खा मिडियाको चेक चलाएको र एउटा चेकबाट आफ्नै खातामा समेत रकम लिएको प्रमाण भेटिएको छ । २०७९ असार १ मा गोर्खा मिडिया नेटवर्क छोडेको घोषणा गरेका लामिछानेले असार ७ मा राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर पार्टी घोषणा गरेका थिए । सुशासनको अभियानसहित पार्टी घोषणा गरेको पाँच दिनपछि असार १२ मा रबिले गोर्खा मिडिया नेटवर्कको खाताबाट ७१ लाखको चेक काटेको र त्यसमध्ये आफ्नै नाममा पनि ९ लाख ८५ हजार ७ सय ४९ को चेक काटेर रकम लिएको भेटिएको छ । उनले कम्पनी छोड्नुअघि र पछि काटेका दुवै चेक प्रहरीले अदालतमा पेस गरेको छ ।
‘निजले आफू उक्त प्रालिबाट सम्पूर्ण सेयर बिक्री गरी २०७९ असार १ बाट अलग भएपश्चात् पनि विभिन्न मितिमा विभिन्न व्यक्ति तथा कम्पनीहरूलाई उक्त खाताबाट आफू स्वयंले खाता सञ्चालकका रूपमा हस्ताक्षर गरी चेकमार्फत ७१ लाख ८० हजार ४९९ बराबरको भुक्तानी दिएको र आफ्ना नाममा समेत ९ लाख ८५ हजार ७४९ रुपैयाँको चेक काटी सो चेकमा दस्तखतसमेत गरी लिएको देखिएबाट रकम अपचलन गर्ने निजको मनसाय स्पष्ट देखिन्छ,’ प्रतिवेदनको पृष्ठ १३६ र १३७ मा भनिएको छ ।
लामिछानेले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा ‘स्वेट सेयर’ बापत ७५ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा जम्मा गरेको, कम्पनीको प्रबन्धपत्र/नियमावली/कम्पनीको बैठकबाट पारित गरेर आवश्यकताअनुसार कार्यकारी अध्यक्षको अनुमति र निर्देशनमा रकम खर्च भएको उल्लेख गरेका थिए । तर उनले ‘स्वेट सेयर’ लिएको भनेर प्रबन्धपत्र, कम्पनीका माइन्युट कहीं कतै उल्लेख नभएको बरु उनको सेयरबापतको रकम पनि सहकारीको बचत अपचलन गरेर लगानी गरिएको अनुसन्धानबाट पुष्टि भएको छ ।
सहकारीको रकमलाई आफ्नो लगानी भनेका लामिछानेले त्यो बीचमा आफ्नो तलबबाहेकको ठूलो रकम कम्पनीबाट पेस्की तथा ऋण शीर्षकमा लगेको भेटिएको छ । उनी गोर्खा मिडियामा आबद्ध रहेको अवधिमा ९० लाख ३१ हजार आम्दानी भएकामा उक्त रकमबाहेक २ करोड रुपैयाँ आफ्नै नाममा पेस्की लगेको पनि अनुसन्धानबाट खुलेको छ ।
यस्तै अभियोजनमा जीबी र रवि मिलेर सहकारीको बचत रकमान्तर (प्लेसमेन्ट), तहकीकरण (लेयरिङ) र एकीकरण (इन्टिग्रेसन) गरेको दाबी गरिएको छ । सूर्यदर्शनबाट २ करोड रुपैयाँ जीबी राईको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा ट्रान्सफर गरेको, त्यसको ३ दिनपछि ७५ लाख रुपैयाँ लामिछानेको खातामा सारिएको र भोलिपल्ट त्यही ७५ लाख रुपैयाँ सेयर खरिदका लागि गोर्खा मिडिया नेटवर्कको खातामा सारेको, त्यहाँबाट फेरि लामिछानेको खातामा सारेर अपचलन गरेको तथ्य प्रतिवेदनले बाहिर ल्याएको हो ।
‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्रबाबुको खातामा रकमान्तर भएको सो रकममध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम पुनः गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा रकमान्तर तथा हस्तान्तरण गर्दै कम्पनीमा अवैध तवरबाट प्राप्त गरी निजले आफ्नो खातामा धारणसमेत गरी पुनः ट्रान्सफर गरेबाट सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा निजको संलग्नता पुष्टि हुन आयो,’ अभियोगपत्रमा भनिएको छ, ‘बयानका क्रममा गोर्खा मिडियामा उनले गरेको लगानी ‘स्वेट सेयर’ बापत प्राप्त गरेको भनी बताए तापनि उनले सहकारीबाट अपचलन भई आएको रकम नै गोर्खा मिडियामा लगानी गरेर सेयरधनी भएको तथ्य सप्रमाण पुष्टि हुन आयो ।’
रवि लामिछानेले गोर्खा मिडियाको १५ प्रतिशत सेयर खरिद गर्न गरेको लगानीमध्ये ७५ लाख पोखराको सूर्यदर्शन सहकारीबाट र एक करोड बुटवलको सुप्रिम सहकारीबाट लिएको पुष्टि भएको छ । कास्कीमा भने सूर्यदर्शन सहकारीको ७५ लाख, उनले व्यक्तिगत रूपमा ५०-५० लाख गरी लिएको एक करोडका लागि उनलाई जवाफदेही बनाउन माग गरिएको छ । त्यस्तै सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा लगिएको ६ करोड ६१ लाखमध्ये लामिछानेको दायित्वस्वरूप १ करोड ६२ लाख ६५ हजार गरी ३ करोड ३७ लाख ६५ हजार रुपैयाँका लागि उनलाई अभियुक्त बनाइएको छ । यस्तै सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो कायम गरी त्यति नै जरिवानाको मागदाबी गरिएको छ भने श्रीमती निकिता पौडेलको पनि सम्पत्ति जफत र लामिछानेलाई १५ वर्षसम्म कैद सजायको माग गरिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा अभियोगपत्र बुझाएको छ । अहिले पूरक अभियोजनमा अभियुक्त बनाइएका ४४ मध्ये ३१ जना व्यक्ति र ८ कानुनी व्यक्ति (कम्पनी) लाई प्रतिवादी बनाइएको छ । पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका परिवारका सदस्यसहित पाँच जनालाई भने सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको हो ।
जीबी राईसहित १९ जनाविरुद्ध गत वर्ष नै मुद्दा दायर भएको छ । उनीहरूमध्ये जीबी राईसहित पाँच जनालाई सम्पत्ति शुद्धीकरण र सबैलाई संगठित अपराधको मुद्दा थपिएको छ । यसरी सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जम्मा ६३ जनालाई सहकारी ऐन, संगठित अपराध (निवारण) ऐन, सम्पत्ति शुद्धीकरण ऐन, राष्ट्र बैंक ऐन र मुलुकी अपराध संहिताको एकीकृत कसुरबमोजिम सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।
प्रतिवादी बनाइएका ६३ मध्ये गोर्खा मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वसञ्चालक छविलाल जोशी, जीबी राईको सम्पत्ति व्यवस्थापनमा संलग्न लीला पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ । क्रिप्टो कारोबारमा समेत संलग्न जीबी राईलाई राष्ट्र बैंक ऐनमा समेत मुद्दा चलाइएको छ । यस्तै पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई पनि सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्