जनता टाइम्स

८ पुष २०८१, सोमबार १६:१२

नेपाली समाजमा मानव सभ्यता कमजोर हुँदै गएको छ : पूर्वराष्ट्रपति यादव


काठमाडौं, पुस ८ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यतिबेला नेपाली समाजमा मानव सभ्यता कमजोर हुँदै गएको भन्दै गम्भीर प्रकट गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको सोमवार आयोजित पद हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले मानव सभ्यता कमजोर हुँदै गएकोले यस्तो बेलामा पत्रकारहरूले आफ्नो धर्म छोड्न नहुने बताउनुभयो ।

‘अहिले मानव सभ्यताको उल्टो गियर लागिरहेको छ कि जस्तो लाग्छ, नैतिकताको धेरै कमी छ, राजनीतिकर्मीहरूले नैतिकता छोड्ने हो भने त्यो व्यापार हुन्छ, राजनीति रहँदैन, त्यस्तै तपाईँहरूले पनि जब कलम समात्नु हुन्छ, त्यो बेला पत्रकारिताको धर्म निभाउनुपर्छ’, यादवले भन्नुभयो ।

सरकारले पत्रकारिताको क्षेत्रलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको भन्दै उहाँले यो लडाइँ पत्रकारहरूले सधैँ लड्नुपर्ने बताउनुभयो ।

‘आज हामी खुल्ला समाजमा आएका छौँ, संविधान लोकतान्त्रिक छ, गणतान्त्रिक छ, सङ्घीयतासहित समावेशी, समानुपातिक छ, स्वतन्त्र पत्रकारिता छ तर अहिले पनि गुनासो आइरहेको छ कि सरकारले यो क्षेत्रलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको छ, यसमा तपाईँहरू लडिरहनुपर्छ’, पूर्वराष्ट्रपति यादवले भन्नुभयो ।

उहाँले अहिले प्रजातन्त्रको क्षय भइरहेको महसुस आफूले गरेको पनि बताउनुभयो । अमेरिकामा ३५ वटा मुद्दा लागेका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु पनि प्रजातन्त्रको क्षय भइरहेको उहाँले सुनाउनुभयो ।

आफू लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी समय भए पनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको यादवले बताउनुभयो । ‘संसारमा डेमोक्रेसीको क्षयीकरण भइरहेको छ, सुन्दा नमिठो लाग्छ, अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्ने कुरा भन्नु र सुन्नु परिरहेको छ’, उहाँले भन्नुभयो ।