जनता टाइम्स

८ पुष २०८१, सोमबार २०:१७

शनिबारदेखि नै बन्द थियो खोटाङका आचार्य बाबु–छोरा मृत भेटिएका कोठा


काठमाडौं, पुस ८ । खोटाङबाट ६ दिनअघि मात्रै काठमाडौं आउनु भएका कूलप्रसाद आर्चाय मृत अवस्थामा फेला परेका छन । भक्तपुरको सूर्यबिनायक नगरपालिका २ स्थित बालकोट फिकाधारामा ५६ वर्षीय आचार्य छोरासँगै मृत अवस्थामा आज बिहान फेला परेका हुन ।

आचार्यका २२ वर्षीय छोरा प्रविन आचार्य पनि मृत अवस्थामा भेटिएका छन । रूपाकोट मजुवागढी–१ खोटाङ घर भएका कुलप्रसाद जिल्ला हुलाक कार्यालयका निमिक्त कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । ६ दिनअघि मात्रै कार्यालयको काम लिएर आचार्य काठमाडौं आउनु भएको हो ।

उहाँका दुई छोरा भक्तपुरको बालकोटमा बसेर पढ्दै थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रबक्ता ढुण्डिराज नेउपानेका अनुसार दुईवटा फरक फरक कोठामा आर्चायका बाबुछोरा मृत भेटिएका हुन । उनीहरूको टाउकोको पछाडि र कानमा समेत चोट लागेको छ । आर्चाय परिवार चार वर्षदेखि उक्त घरमा कोठा लिएर बस्दै आएका थिए ।

बाबुछोराको शरीरमा चोटैचोट देखिएको र उक्त कोठा बाहिरबाट ताला लगाएको अवस्थामा रहेकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनापछि उहाँका जेठो छोरा मिलन फरार रहेको प्रहरीले जनाएको छ । डीएसपी नेउपानेका अनुसार उनीहरू साढे तीन तले घरको भुइतल्लामा २ वटा कोठा लिएर बस्ने गरेका थिए । मिलन लोकसेवा आयोगको तयारी गरिरहेका थिए भने प्रविनले भीएस निकेतनमा बीएस्सी अध्ययनरत थिए ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानले देखाएअनुसार शनिबार दिनभर सँगै रहेका तीन बाबुछोराले राति पनि सँगै खाना खाएका थिए । एकै फ्ल्याटमा बस्ने अर्को कोठाको साथीहरूलाई पनि मिलन आफैंले बनाएको तरकारी बाँडेर खाएका थिए । एउटै कोठामा बसेर खाना खाँदै गफ गरिरहेका बाबु छोराहरू बेग्लाबेग्लै कोठामा सुतेका थिए ।

आइतबार बिहानदेखि आर्चाय परिवार बस्ने दुई वटा कोठामा बाहिरबाट ताला लगाइएको थियो । काम विशेषले बाहिर गएका होलान भनेर कसैले पनि सोधखोज गरेनन । खोटाङ बस्ने कुलप्रसादका आफन्तले आइतबार दिनभर श्रीमान र छोराहरूको नम्बरमा फोन गरे तर कसैको पनि फोन उठेन ।

आइतबार दिनभर फोन नउठ्ने र केही खोज खबर नपाएपछि काठमाडौंमा रहेका आफन्तलाई कोठामा हेर्न जान भनेका थिए । सोमबार विहानै आफन्तहरू कोठामा पुगेका थिए । प्रहरीसमेत पुगेर कोठा खोलेर हेर्दा दुवै बाबुछोरा मृत भेटिएका हुन ।

घटनास्थल प्रहरी पुग्दा मृतक बाबुछोराको टाउकोको चोटमा रगत जमिसकेको थियो । प्रहरीले शनिबार राति नै उनीहरूको हत्या भएको हुनसक्ने आशंका गरेको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।