इटहरी, पुस ९ । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । गएराती सम्पन्न मतगणनाको परिणामअनुसार थापा ७६२ मत प्राप्त गरी राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
इटहरीमा भएको नेपाल जेसिजको ५१ औं महाधिवेशनमा भएको निर्वाचनमा थापा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । थापाले जीवन कार्कीलाई पराजित गर्नुभएको हो । कार्कीले ५ सय ५३ मत पाउनु भएको छ । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति जुटन नसकेपछि चुनाव भएको थियो ।
अध्यक्षमा ५ जनाको आकांक्षा भए पनि गएराती २ जनाका बिचमा चुनावी प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धामा थापा बिजयी हुनुभएको छ । थापाको जीतसँगै नेपाल जेसिसले इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । निर्वाचनबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ बिजयी हुनुभएको छ ।
यसैगरी राष्ट्रिय उपाध्यक्षमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापाकाजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्जल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार नेपाल जेसिजको महाधिवेशनको उदघाटन गर्नुभएको थियो । महाधिवेशनमा नेतृत्व चयनका लागि सहमति प्रयाश सफल हुन नसकेपछि निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्