भक्तपुर, पुस ९ । सूर्यबिनायक नगरपालिका २ स्थित बालकोटमा आफ्नै बुबा र भाइको हत्या गरी फरार रहेका खोटाङका मिलन आचार्य पक्राउ परेका छन ।
बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनले अभियोग स्वीकार गर्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन ।
प्रहरीले सो हत्या मिलनबाटै भएको आशंकासहित उनको खोजी गरिरहेको थियो । उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्वीकार गरेका छन । उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको थियो ।
अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले मिलन नियन्त्रणमा रहेको र घटना आफूहरुले अनुमान गरेजस्तै उनीबाटै भएको स्वीकार गरेका छन । महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका छन ।
हुलाकको निमित्त प्रमुख भएपछि कार्यालयले स्कुटर दिएको र बुढेसकालमै भए पनि स्कुटरको लाइसेन्स बनाउन कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि इनड्राइभबाट मोटरसाइकल मगाएर सातदोबाटोसम्म पुगेको बताएका प्रहरीको भनाई छ ।
त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलंकी पुगेको र त्यहाँ पुगेर मोबाइलको सिम फ्याँकेको मिलनले बयान दिएका छन । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार बिहान उनलाई कलंकीमा खोजिरहेको थियो । त्यहीबीच महारागञ्ज प्रहरी वृत्तबाट अनुसन्धान टोलीले आत्मसमर्पण गरेको खबर दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्