जनता टाइम्स

९ पुष २०८१, मंगलवार १९:०४

राष्ट्रिय सम्मेलन सुरु भएको तीन महिनापछि अखिल क्रान्तिकारीको निर्वाचन तालिका सार्वजनिक, दुई चरणमा निर्वाचन (तालिकासहित)


काठमाडौं, पुस ९ । नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा विवादका कारण नेतृत्व चयन गर्न नसकेको अखिल क्रान्तिकारीले तीन महिनापछि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार नेतृत्व चयनका लागि दुई चरणमा निर्वाचन हुने छ । पहिलो चरणमा नेतृत्वमा उमेर हद (३२ वर्ष) लगाउने कि नलगाउने भनेर निर्वाचन हुनेछ । त्यसबाट जे नतिजा आउँछ, त्यसको आधारमा उम्मेदवारी दर्ता गरी नयाँ नेतृत्व चयनका लागि फेरि मतदान हुने कार्यतालिका तय रहेको छ ।

मंगलबार प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जारी गरेको सूचना अनुसार उमेर हदका लागि पुस १० गते मतदाता नामावली सार्वजनिक हुनेछ । पुस ११ गतेदेखि १२ गते बिहान १० बजेसम्म मतदाता नामावली उपर दावीविरोध र पुस १२ गते साँझ ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै उमेर हदको विषयमा पुस १३ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदात हुने छ ।

उमेर हदमा मतदानका लागि भूगोल र गैरभूगोल गरी ८६ जिल्लाहरूमा मतदान केन्द्र तोकिएको छ । तालिकाअनुसार उमेर हदको निर्वाचनको नतिजा पुस १४ गते सार्वजनिक हुनेछ । त्यसपछि दोस्रो चरणको निर्वाचन केन्द्रीय पदाधिकारी र सदस्य चयनका लागि हुने छ । यो निर्वाचनका लागि पुस १५ गते मनोनयन दर्ता हुने छ । पुस १६ गते उम्मेदवारी उपर दावीविरोध, अन्तिम नामावली प्रकाशन हुने छ । पुस १७ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेशस्तरीय मतदान केन्द्र तोकिएको छ । गत असोज १० गतेदेखि कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने भनिएको थियो । तर विवादका कारण सम्मेलन स्थलमा तोडफोड भएपछि सम्मेलन स्थगित गरेर २३ र २४ मंसिरमा गर्ने भनिएको थियो । तर निर्धारित समयमा पनि सम्मेलन हुन सकेको थिएन ।

लामो बिवादपछि ३२ वर्ष उमेर हद कायम गर्ने कि नगर्ने भनेर मतदानको निर्णय भएको हो । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भए अहिले अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिने छन् ।