काठमाडौं, पुस १०। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा पनि संयुक्त कार्यदल गठन गरेका छन ।
संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाइएको हो। । एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार कार्यकालले संसदको कामलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने छ ।
‘विचाराधीन अवस्थामा रहेका सबै विधेयक पारित गर्ने वातावरण बनाउनेगरी हामीले कार्यदल बनाएका हौं’ भट्टराइले भन्नुभयो, ‘यो कार्यदलले विचाराधीन विधेयकहरुमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने जस्ता काम गर्नेछ ।’
कार्यदलमा दुवै दलका संसदीय मामिला विभाग प्रमुख, प्रतिनिधि सभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहनेछन् । कांग्रेसमा संसदीय मामिला विभाग प्रमुख जीवन परियार र भने एमालेमा योगेश भट्टराई हुनुहुन्छ ।
संसदीय फाँटको काममा सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाउने निर्णय भएको आजको छलफलमा दुवै दलका दोस्रो तहका नेताहरु सहभागी थिए ।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुन्थ्यो भने कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रममन्त्री आरजु राणा देउवा सहभागी हुनुहुन्थ्यो ।
सरकारको समग्र काममै सहजीकरण गरिरहेको कार्यदलमा रहेका यी नेताहरु बाहेक संसदीय फाँटका जिम्मेवारीमा दुवै दलका नेताहरु छलफलमा सहभागी थिए । ‘
प्रतिक्रिया दिनुहोस्