काठमाडौं, पुस ११। उच्च अदालत पाटनबाट राष्ट्रपति चुरे मधेश संरक्षण विकास समिति सदस्य पदमा रहन अयोग्य ठहर भएका भेषराज आचार्यलाई नेकपा एमालेले समेत एक वर्षका लागि निलम्बन गरेको तथ्य खुलेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै लामो समयदेखि आर्थिक र नैतिक विचलनयुक्त गतिविधि गरेको भन्दै आचार्यविरुद्ध उजुरी परेको थियो । संगठन विभागले छानविन गर्दा आचार्यका गतिविधि र आचरण पार्टी र विद्यमान ऐन कानूनविपरित रहेको ठहर भएको थियो ।
कपिलवस्तु घर भएका आचार्य २०७७ सालमा चुरे विकास समितिको सदस्य नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री ओलीको वरिपरि हिँडिरहने आचार्यको बारेमा नेतृत्वले वास्तविकता नबुझी नियुक्ति दिँदा क्षति भएको भन्दै कपिलवस्तुका नेताहरुले ध्यानाकर्षण गराएका थिए ।
आकर्षक तलब,गाडीसहितको सुविधा पाइने विकास समिति सदस्य भएपछि आचार्यले कर्मचारीसँग खुलेआम ‘मलाई त बाले कमाउन पठाउनु भएको हो’ भन्दै घुसको बार्गेनिङ गर्न थालेको उजुरी परेको थियो । अध्यक्ष किरण पौडेलले उहाँलाई आचरणमा राख्न खोज्दा पटकपटक मार्ने धम्की दिएको अडियो एमाले नेतृत्वसम्म पुगेको थियो ।
पछिल्लोपटक कात्तिक महिनामा अध्यक्ष पौडेलको कार्यकक्षमा पसेर कठालो समाउँदै ‘तेरो खुट्टा काटेर मार्दिन्छु,म यहाँ कमाउन आएको हुँ,मलाई कमाउन नदिने हो भने तँलाई मार्दिन्छु’ भनेको अडिओ प्रहरी प्रशासनमा समेत उजुरी पुगेको थियो ।
उहाँलाई पार्टीका नेताहरुले आचरण सुधार्न आग्रह गर्दा उल्टै अश्लिल गालिगलौज गर्ने र आफूले ‘ओली बा’ बाहेक अरुलाई नमान्ने जवाफ दिने गरेका थिए । आचार्यले अश्लिल गागिलौज र अध्यक्ष किरण पौडेललाई मार्ने धम्की दिएको अडिओ प्रधानमन्त्री ओलीसम्म पुगेपछि कारवाही गर्न निर्देशन दिनुभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्