जनता टाइम्स

११ पुष २०८१, बिहीबार १९:५१

सचिव बढुवादेखि राखेपमा ८ सदस्य नियुक्तिसम्मका यी हुन मन्त्रिपरिषद बैठकका १२ निर्णय (सूचीसहित)


काठमाडौं, पुस ११ । सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिदेखि सम्पत्ति सुद्धिकरणसम्मका १२ वटा निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नुभएको हो । सार्वजनिक भएको निर्णयअनुसार मन्त्रिपरिषदले सम्पत्ति सुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्जुअल मुद्रा प्रयोग, अनुचित लेनदेन खलेमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसुर तोक्ने निर्णय गरेको छ ।

यसैगरी पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषद् बैठकले दिएका छ । यसैगरी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

सञ्चारमन्त्री गुरुङका अनुसार मन्त्रिपरिषदले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा आठ जना सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेमा शान्तीकुमारी चौधरी, आन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्द हुनुहुन्छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लािग नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहनुभएको रहेको सिफारिस समिति गठन गरेको छ भने शिक्षक सेवा आयोगको एक जना महिलासहित २ जना सदस्यको नियुक्तिका लागि सिफारिस गर्न लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको सिफारिस समिति गठन गरेको छ । यसैगरी सहसचिव प्रा. मधुप्रसाद भेटुवाललाई बढुवा गरी जल तथा उर्जा आयोगको सचिवालयको सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।