जनता टाइम्स

१२ पुष २०८१, शुक्रबार १५:५०

उपचार गर्न आएका डाक्टर नै लुटपाटमा उत्रिएपछि


काठमाडौं, पुस १२ । डाक्टर बनेर उपचार गर्ने भन्दै लुटपाट गर्ने एक जना नक्कली डाक्टर पक्राउ परेका छन ।

नक्कली डाक्टर बनी लुटपाट गरेको अभियोगमा प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका २ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डललाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका ४ आरुखर्कबाट पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ आफू डाक्टर भएको र उपचार गरिदिने भन्दै पीडितको घरमा गइ बेहोस बनाइ लुटपाट गरेको आरोप उनीमाथि रहेको छ।

प्रहरीका अनुसार उनले कोठाबाट सुनका गहनासहित तीन लाख रुपैयाँ लुटेका थिए। मण्डललाई थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको प्रहरीले जनाएको छ।