काठमाडौं, पुस १३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताउनुभएको छ । आज द्रुतमार्गको प्रस्थान बिन्दु मानिएको ललितपुरको खोकनादेखि बुङ्मती हुँदै फसिडोलसम्मको अवलोकन एवं निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधानतर्फ लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘यो फास्ट ट्र्याक तराई र काठमाडौँ जोड्ने लाइफलाइन हो । यसको प्रस्थानविन्दू कायम गर्ने विषयमा केहि चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनुहुँदैन, सबैले समाधानको विकल्प खोजी गर्नुपर्छ ।’
खोकनादेखि बुङ्मती हुँदै फसिडोल क्षेत्रमा फाष्टट्र्याकको प्रस्थानविन्दू निर्माण गर्ने जग्गामा स्थानीयसँग लामोसमयदेखि विवाद हुँदा प्रस्थान विन्दु निर्माण कार्य अघि बढ्न सकेको छैन । साथै सडक निर्माण एवं विस्तार गर्दा कसैको पनि आस्थामाथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवं परम्परागत मान्यता र आस्थाहरुको संरक्षण गर्दै निकास निकाल्नुपर्ने बताउनुभयो ।
फास्ट ट्र्याकले सर्वसाधारणको आवात–जावत सहज पार्ने मात्र नभई नेपालको वैदेशिक व्यापारलाई समेत प्रवर्धन गर्ने भन्दै उहाँले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रूपमा यसलाई लिइएको बताउनुभयो । मुआब्जा वितरण, क्षतिपूर्ति, मोही तथा गुठी आदिका विषयहरूलाई निराकरण गरी यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उहाँको भनाइ छ । उहाँले फाष्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाप्रति सरकारको उच्च भरोसा रहेको बताउँदै विकास निर्माणमा सेनाको योगदान सह्रानीय रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्