दमक, पुस १३ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले सबै किसिमका अराजकताविरुद्ध सरकार कठोर भएर अघि बढ्ने उदघोष गर्नुभएको छ । गृहजिल्ला झापाको दमकमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो उदघोष गर्नुभएको हो ।
उहाँले अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
‘सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ अर्वौं रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झै गर्ने, आफैँले काटेको चेक मलाई थाहा छैन भन्ने जस्ता गैरजिम्मेवारी पूर्णजवाफ दिनेसम्मका हर्कत अराजक प्रवृत्तिहरु हुन,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो ।
उहाँले कुनै पनि बहानामा ठगी र अपराध गर्नेहरु कानुनी दायराभन्दा बाहिर हुन नसक्ने बताउनु भयो । कुनै दल विशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको पनि मुख्यमन्त्री कार्कीले बताउनु भयो । कुल ७० प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुकअघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय दीपक कार्की र इन्द्र भण्डारीले जब जब एमाले नेतृत्वको सरकार बन्छ तब तब विभिन्न उच्छृङ्खंल र अराजक समूह सरकारको लोकप्रियता विरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म विभिन्न आरोप र लाञ्छना लगाउँदै अफवाफ फैलाउदै आएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्