काठमाडौं,पुस १३ । ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भई कारागार चलान भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङे (राजिब गुरुङ) का स्वकीय सचिव पनि ज्यान मार्ने उद्योगमै पक्राउ परेका छन ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड आक्रमण घटनामा मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव हुनुहुन्थ्यो । लामामाथि रड प्रहार घटनामा भण्डारीको कनेक्सन देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यसअघि विक्रम लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको निष्कर्ष प्रहरीले निकालेको थियो ।
सोही घटनामा संलग्न भएको आरोपमा जेलबाट छुटेका मार्शल भनिने शैलेन्द्र तामाङमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको थियो। कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण भएको थियो । चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्