महोत्तरी, पुस १३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस सरकारमा नेकपा एमाले सामेल भए पछि उपभोक्ता समितिको नाममा बजेट खाने परम्परा अन्त्य भएको बताउनुभएको छ ।
नेकपा एमाले महोत्तरीद्वारा रामगोपालपुरमा आयोजित वृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले मधेसमा एमाले सरकारको एउटा अंश मात्र भएको बताउँदै एमालेले नेतृत्व गर्ने हो भने मधेसका जनताको अपेक्षा अनुसार काम गरेर देखाउने दाबी गर्नुभयो ।
महासचिव पोखरेलले विगतमा मधेसमा एमाले आउन खोज्दा एमाले मधेस विरोधी पार्टी हो भन्ने भ्रम फिँजाइएको र केपी ओलीलाई मधेसविरोधी नेताको रूपमा चित्रित गर्ने प्रयास गरिएको तर जनताले सत्य थाह पाएपछि सवै बदमासहरू साईजमा आएको स्मरण पनि गराउनुभयो । तर मधेसको विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले नै हो भन्ने कुराको सच्चाइलाई मधेसका जनताले बुझ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
मधेसको नाममा राजनीति गर्नेले मधेसको विकासको लागि कुनै काम नगरेपछि मधेसको विकासको नेतृत्व नेकपा एमालेले गर्नुपर्छ भन्ने सङ्कल्प एमाले अध्यक्ष केपी ओलीले गरेर मधेसको विकासमा लाग्नुभएको महासचिव पोखरेलले जानकारी गराउनु भयो । भारत सरकारले लामो समयसम्म काम नगरेर अलपत्र पारेको हुलाकी राजमार्ग केपी ओली प्रधानमन्त्री हुँदा बनाएको उहाँले स्मरण गराउनुभयो ।
एसियाली विकास बैङ्कसँग सहायता लिएर पूर्वपश्चिम राजमार्गसँग तराइका सदरमुकामलाई जोड्ने र तराई मधेसका सबै सदरमुकाम आधुनिकीकरण गर्ने काम पनि नेकपा एमाले नेतृत्वकै सरकारले गरेको उहाँले बताउनुभयो । ‘एउटा असल पार्टी, एउटा असल नेतृत्व राज्य सत्तामा आयो भने के गर्न सक्दो रहेछ भन्ने कुरा एमालले गरेर देखाएको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले नेपालको पानी तराई मधेसले प्रयोग गर्न पाउनु पर्दछ भनेर सुनकोसी–मरिण डाइभर्सन र बबई डाइभर्सनको काम गर्ने पार्टी पनि नेकपा एमाले नै भएको बताउनुभयो । ती दुईवटा योजना बनेपछि मधेसमा बाह्रै महिना सिँचाइको सुविधा पुग्ने उहाँले स्पष्ट पार्नुभयो ।
आज माओवादीको अस्थिरताको कारण मुलुकको विकासले गति लिन नपाएको उहाँले बताउनुभयो । माओवादीको कारण देश बरबाद भएको पोखरेलको भनाइ छ । त्यस अर्थमा एमालेले मिसन २०८४ भनेको उहाँले बताउनुभयो ।
मिसन २०८४ देश बनाउने अभियान भएको उहाँले स्पष्ट पार्नुभयो । मधेसले खोजेको काम नेकपा एमालले गर्न सक्ने भएकोले २०८४ को निर्वाचनमा एमालेलाई बहुमत दिन पोखरेलले आग्रह गर्नुभयो ।
अहिले पनि एमाले र एमाले नेतृत्व माथि घेराबन्दी र आक्रमण भइरहेको बताउँदै पोखरेले यसको प्रभाव सिङ्गो देश विकासमा पर्ने बताउनुभयो ।
‘नेकपा एमाले माथि जुन खालको घेराबन्दी र आक्रमण गरिरहेका छन् त्यो एमाले माथिको आक्रमण मात्र होइन नेपाली जनताको भविष्य माथिको आक्रमण हो, मधेसी जनता माथिको आक्रमण हो’, उहाँले भन्नुभयो ।
नेकपा एमालेको पक्षमा जनता अब एक भए जनता अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । मधेसका जनताले अबको भविष्यको आकलन गरिसकेको बताउँदै त्यसैले एमाले प्रवेशको लहर चलेको उहाँले बताउनुभयो ।
जति बेलासम्म मधेसमा नेकपा एमालेको एकल बहुमतको सरकार बन्दैन त्यति बेलासम्म एमाले प्रवेशको लहर चलिरहने उहाँले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्